शिक्षासम्बन्धी विधेयक परिमार्जन गरिन्छ – कांग्रेस – Nepalboli

शिक्षासम्बन्धी विधेयक परिमार्जन गरिन्छ – कांग्रेस

   २०८० आश्विन ९, मंगलवार  

सत्तारुढ प्रमुख घटक नेपाली कांग्रेसले संसदमा पेश गरिएको शिक्षासम्बन्धी विधेयक परिमार्जन गर्ने प्रतिवद्धता जनाएको छ। मंगलवार पार्टी संसदीय दलले सरोकारवाला निकायसँग छलफल गरी शिक्षकहरुले सरकारसँग गरेको ६ बुँदे सहमति र राहत शिक्षकहरुको मागलाई सम्बोधन हुने गरी सो विधेयक परिमार्जन गर्ने प्रतिवद्धता जनाएको हो।

नयाँ बानेश्वरस्थित संघीय संसद भवनको ल्होत्से हलमा भएको छलफलमा सरोकारवाला निकायका विभिन्न २० वटा संघ, संस्थाहरुले आफूहरुको माग सम्बोधन हुनेगरी सो विधेयक परिमार्जन गर्न कांग्रेस नेताहरुको ध्यानाकर्षण गराएका थिए।

सरोकारवाला निकायका मागलाई सम्बोधन हुनेगरी सो विधेयक परिमार्जन गर्न प्रतिवद्धता पार्टीको तर्फबाट प्रतिवद्धता जनाइएको प्रमुख सचेतक रमेश लेखकले जानकारी दिए। उनले आफ्नो पार्टीले सो विधेयकलाई समृद्ध बनाउनका लागि बुधवार (भोलि) अपरान्ह १ बजे विज्ञहरुसँग पनि छलफल कार्यक्रम तय गरिएको बताए।

प्रमुख सचेतक लेखकले भने, ‘अहिले जुन विद्यालय शिक्षा विधेयक, जो आएको छ। यो महत्वपूर्ण विधेयक मध्यको एउटा विधेयक हो। त्यसमा हामीले आज सरोकारवालाहरुसँग छलफल गरेका छौं। जसमा २३ जना वक्ताहरुले आफ्ना धारणा राख्नुभएको छ। झन्डै शिक्षाको क्षेत्रमा काम गरिराखेका २० वटा संस्थाका धारणाहरु सुन्न अवसर हामीले प्राप्त गरेका छौं। र, भोलि एक बजे हामी विशेषज्ञहरुसँग बसेर यो विधेयक बनाउँदा संलग्न हुनुभएका विज्ञहरुसँग पनि बसेर छलफल गर्छौं।’

छलफलमा कांग्रेसका प्रतिनिधि सभा र राष्ट्रिय सभाका सांसदहरुको उपस्थिति रहेको थियो।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै