एमाले बागमतीको प्रदेश अधिवेशन आजबाट सुरूहुदै

नेकपा (एमाले) को बागमती प्रदेश अधिवेशन सोमबार (आज) बाट सुरू हुँदै छ। आज बिहान ११ बजे भृकुटीमण्डपमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गर्ने र मंगलबार प्रज्ञा भवन कमलादीमा बन्द सत्र हुने कार्यालय सचिव शुभराज पोखरेलले जानकारी दिए।
प्रदेश अधिवेशनमा एक लाख नौ हजार २३८ प्रतिनिधिबाट एक हजार १५० बढी प्रतिनिधि चुनिएर आएका छन्। सबै प्रतिनिधि सर्वसम्मत चुनिएर आएका हुन्।
नौ सय प्रतिनिधि भूगोलबाट, ७० जनसंगठनबाट र ३० विभागबाट चुनिएर आएका छन्। कूल प्रतिनिधि संख्याको पाँच प्रतिशत मनोनित गर्न पाउने प्रावधान विधानमा छ। ती प्रतिनिधि चुनिन बाँकी रहेको बताइएको छ।
संघीयता कार्यान्वयनमा आएपछि एमालेले पहिलो पटक प्रदेश अधिवेशन गर्न लागेको हो। अधिवेशनमा दुई केन्द्रीय सदस्यसहित ४ जना आकांक्षी मैदानमा देखिएका छन्। नेतृत्व चयनका लागि सर्वसम्मतिका लागि प्रयास भए पनि चुनावै हुने देखिएको एक नेताले बताए।
तर, सर्वसम्मतिका लागि प्रयास भइरहेको पार्टी उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले बताइन्।
प्रदेश अध्यक्षको दौडमा रामेछापका कैलाश ढुंगेल र मकवानपुरका कृष्ण दाहाल अगाडि देखिएका छन्। ढुंगेल बागमती प्रदेशको अघिल्लो कार्यकालमा आर्थिक मामिला तथा योजना मन्त्री थिए।
बागमती प्रदेश अध्यक्षमा अहिले केशव पाण्डे छन्। पार्टीको एउटा पंक्ति उनको नाममा सर्वसम्मतिको प्रयास पनि गरिरहेको छ।
एमाले बागमती प्रदेशमा ४ सय ७९ सदस्यीय प्रदेश संगठन कमिटी रहेको छ। १३ वटा जिल्लाका जिल्ला अध्यक्षहरू पदेन सदस्य रहेका छन्।
अधिवेशनले ५० प्रतिशतभन्दा बढी आकार घटाउने छ। अबको अधिवेशनले एक अध्यक्ष, एक उपाध्यक्ष, एक सचिव, दुई उपसचिवसहित २४० सदस्यीय कमिटी निर्वाचित गर्ने छ। प्रदेश कमिटी निर्वाचित गर्दा ७५ आधार सदस्य हुने छ। प्रतिनिधि सभाका ३३ निर्वाचन क्षेत्रबाट ५–५ जनाका दरले निर्वाचित हुँदा २४० जना पुग्ने छ।
जिल्ला अध्यक्ष प्रदेशको पदेन अध्यक्ष हुने छन्। प्रदेश अध्यक्ष पोलिटब्युरोको पदेन सदस्य हुने छन्।