महासमिति बैठक मधेशमा गर्न केन्द्रीय सदस्यहरूको प्रस्ताव – Nepalboli

महासमिति बैठक मधेशमा गर्न केन्द्रीय सदस्यहरूको प्रस्ताव

   ५ आश्विन २०८०, शुक्रबार  

नेपाली कांग्रेसका केन्द्रीय सदस्यहरुले पार्टीको महासमिति बैठक मधेश प्रदेशमा गर्न प्रस्ताव गरेका छन् । कांग्रेसले यसअघि साउनमा बसेको बैठकबाटै आगामी मंसिर ११ देखि १३ गतेसम्म महासमिति बैठक बोलाउने निर्णय गरेको थियो । बिहीबारदेखि जारी केन्द्रीय कार्यसमितिको बैठकमा महासमिति बैठकको तयारीबारे छलफल भइरहेको छ ।

महामन्त्री गगन थापाले महासमिति बैठकको तयारीका लागि विभिन्न उपसमिति गठन सहितको प्रस्ताव पेस गरेका छन् । त्यसबारेको छलफलका क्रममा केन्द्रीय सदस्यहरुले महासमिति बैठक मधेश प्रदेशमा गर्न प्रस्ताव गरेका हुन् ।

शुक्रबारको बैठकमा बोल्नेक्रममा केन्द्रीय सदस्य मधु आचार्यले महासमिति बैठक मधेश प्रदेशमा गर्नु उपयुक्त हुने बताए । यो पार्टीको महाधिवेशनपछिको अर्को महत्वपूर्ण सभा हो । यो पार्टी जीवनका लागिमात्रै होइन, अहिलेको देशको परिस्थितिका हिसाबले पनि निकै महत्वपूर्ण छ, उनले भने, त्यसकारण महासमिति बैठक ग्राउन्डमा गर्नु राम्रो हुन्छ । मधेश कांग्रेसको उर्वर थलो हो । महासमिति बैठक मधेशमै गरौँ ।

उनले महासमिति बैठकका लागि तीन दिन कम हुनेसमेत बताए । ुमहासमिति बैठकले नीति महाधिवेशनको काम पनि गर्नु छ । त्यसैले यो तीन दिनमा सकिदैन, उनले भने, त्यसकारण यसलाई कम्तीमा पनि पाँच दिनको समयावधि तोकिनुपर्छ ।

अर्को केन्द्रीय सदस्य गोविन्द पोखरेलले पनि महासमिति बैठक मोफसलमा गर्नु नै उपयुक्त हुने बताए । पार्टीको महाधिवेशन काठमाडौँमा भयो । अब महासमिति बैठक काठमाडौं उपत्यकाबाहिर हुनु राम्रो हुन्छ, उनले भने, त्यसकारण यहाँ मधेशमा गर्नुपर्छ भन्ने कुरा उठेको छ, त्यो उपयुक्त हुन्छ ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै