शिक्षा विधेयकलाई सर्वस्वीकार्य बनाउने कांग्रेसको प्रतिबद्धता

नेपाली कांग्रेसले सरकारले संसद्मा दर्ता गरेको विद्यालय शिक्षा विधेयकलाई सर्वस्वीकार्य बनाउने प्रतिबद्धता जनाएको छ । विधेयकका विषयमा असन्तुष्ट भएर आन्दोलनरत शिक्षकहरु र सरकारबीच भएको संवाद र सहमतिलाई स्वागत गर्दै कांग्रेसले शिक्षकहरुले उठाएका जायज माग र भावनालाई शान्तिपूर्ण वार्ताका माध्यमबाट समाधान गर्नु उपयुक्त रहेको जनाएको छ ।
बिहीबारदेखि बसेको केन्द्रीय कार्यसमितिको बैठकमा केन्द्रीय सदस्यहरुले शिक्षकहरुका जायज मागलाई सम्बोधन गर्नुपर्ने माग उठाएपछि महामन्त्री विश्वप्रकाश शर्माले बैठकको बीचमै शिक्षकहरुका जायज मागलाई सम्बोधन गर्न सरकारलाई ध्यानाकर्षण गराउने निर्णय सुनाएका थिए ।
त्यसलगत्तै सरकार र शिक्षकहरुबीच सहमति भएको खबर बाहिरिएपछि कांग्रेसले सहमतिबमोजिम विधेयकलाई सर्वस्वीकार्य बनाउन पहल गर्ने प्रतिबद्धता जनाएको हो ।
सरकारले संसद्मा दर्ता गरेको विद्यालय शिक्षा विधेयकु लाई लिएर मुलुकभरका शिक्षकहरु आन्दोलनमा उत्रिएको वर्तमान अवस्थामा सबै किसिमका जायज माग र भावनालाई शान्तिपूर्ण वार्ताका माध्यमबाट समाधान निकाल्न सकिन्छ भन्ने दृढ विश्वासका साथ सरकार र आन्दोलनरत पक्षबीच भएको वार्ता र सहमतिलाई नेपाली कांग्रेस हार्दिक स्वागत गर्दछ, मुख्यसचिव कृष्णप्रसाद पौडेलले विज्ञप्तिमार्फत भनेका छन् ।