बागमती प्रदेशको एमाले संसदीय दलको मुख्य सचेतकमा निरौला
नेपाल कम्युनिस्ट पार्टी (एमाले) बागमती प्रदेश सभा संसदीय दलको मुख्य सचेतकमा दीपक निरौला चयन भएका छन्।
निरौलालाई एमाले बागमती प्रदेशका संसदीय दलका नेता तथा प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले एमाले संसदीय दलको विधान २०७७ को दफा १३ बमोजिम मनोनयन गरेको जनाइएको छ। उनी काठमाडौं क्षेत्र नम्बर ५-ख बाट प्रदेश सभामा निर्वाचित सांसद हुन्।
निरौलालाई मुख्य सचेतकमा मनोनयन गरिएको जानकारी प्रदेश सभा सचिवालयलाई बिहीबार दिइएको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ। सचिवालयका अनुसार निरौलालाई यही वैशाख १७ गते नै मुख्य सचेतकमा मनोनयन गरिएको थियो।
एमालेका तत्कालीन मुख्य सचेतक केशवराज पाण्डे प्रदेशको आन्तरिक मामिला तथा कानुनमन्त्री भएपछि रिक्त पदमा निरौलालाई चयन गरिएको प्रदेश सभा सचिवालयलाई दलले बुझाएको पत्रमा उल्लेख छ। पाण्डेअघि हालका भौतिक पूर्वाधारमन्त्री रामेश्वर फुयाँल मुख्य सचेतक थिए।