काग्रेस सभापति देउवा र वरिष्ट नेता शेखर कोइराला बिच छलफल

नेपाली कांग्रेसका नेता शेखर कोइरालाले बुधबार बिहान सभापति शेरबहादुर देउवालाई उनको निवास धुम्बाराही पुगेर भेटेका छन्। मंगलबार बसेको आफ्नो समूहको बैठकबाट सभापति शेरबहादुर देउवा नेतृत्वको संस्थापन पक्षविरुद्ध आक्रामक रुपमा प्रस्तुत हुने रणनीति बनाएलगत्तै कोइराला धुम्बाराही पुगेका हुन्।
जहाँ उनीसहित उपसभापति धनराज गुरुङ र सहमहामन्त्री जीवन परियार पनि साथमा थिए। मंगलबार बालुवाटारमा भएको बैठकले देउवालाई भेट्न शेखरसँगै महामन्त्री गगन थापा र सहमहामन्त्री बद्री पाण्डे पनि जाने निर्णय गरेको थियो। तर दुई नेता बाँकी रहेको बीपी साहित्य महोत्वसमा व्यस्त भएकाले धुम्बाराही गएनन्।
देउवासँगको भेटका क्रममा शेखरले चौधौँ महाधिवेशनपछि पनि सभापतिको कार्यशैलीमा कुनै परिवर्तन नदेखिएको भन्दै आक्रोश पोखेका छन्। कोइरालाले देउवासँग भएको आधा घण्टा लामो भेटवार्ताका क्रममा पार्टीको आन्तरिक संरचनादेखि देशको आर्थिक र कूटनीतिक अवस्था पनि ध्वस्त हुने बाटोमा पुगेको कुरा राखेका थिए।
‘देशका हरेक सूचकहरु ध्वस्त हुने बाटोमा छन्। जनताले सरकार छ कि छैन भन्न थालेका छन’, देउवासँगको भेटमा कोइरालाको भनाइबारे उद्धृत गर्दै एक नेताले नेपालखबरलाई भने, ‘देशको अवस्था दिनदिनै जर्जर बनिरहँदा ९० सिट बोकेको कांग्रेस रमिते बनेर हेर्न मिल्दैन।’
कोइरालाले त्यसक्रममा कांग्रेसका भ्रातृसंगठन लथालिंग बनाएको, समिति मनोनयनमा पनि विधान र मापदण्ड केही पनि पालना नगरेको कुरा पनि उठाएका थिए।
‘भ्रातृसंगठनमा गाईजात्रे तरिकाले मनोनयन गरिएको छ। पार्टीमा पनि विधानविपरीत काम भइरहेका छन्। तपाईंको कार्यशैली पनि सुध्रिएन’, शेखरले देउवासँग भने, ‘विधानअनुरुप पार्टी र भ्रातृसंगठन चलाउने कुरामा तपाईंले वास्तै गर्नु भएन।’
उनले राष्ट्रिय राजनीति यति लथालिङ्ग हुँदा पनि कांग्रेस नेतृत्व चुपचाप बस्नु गैरजिम्मेवारीपन भएको उल्लेख गरे। कोइरालाले पार्टीबाट पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा गएका मन्त्रीहरुबारे देउवाले कहिले छलफल र समीक्षा नगरेकोमा पनि आपत्ति जनाए।