सरकारले जग्गा उपलब्ध गराए क्रिकेट रंगशाला बनाउन पहल गर्ने बालेनको घोषणा – Nepalboli

सरकारले जग्गा उपलब्ध गराए क्रिकेट रंगशाला बनाउन पहल गर्ने बालेनको घोषणा

   १९ भाद्र २०८०, मंगलवार  

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले सरकारले १०० रोपनी जग्गा उपलब्ध गराए क्रिकेट रंगशाला बनाउनका लागि पहल गर्ने बताएका छन्। एसिया कप क्रिकेटमा नेपाल–भारतको खेल हेर्न श्रीलंका पुगेका बालेनले सामाजिक सञ्जालमा आफ्नो ‘अनुभूति’ साझा गर्दै सरकारले जग्गा उपलब्ध गराएको खण्डमा महानगरले क्रिकेट रंगशाला निर्माणका लागि पहल गर्ने बताएका हुन्।

सरकारले जग्गा उपलब्ध गराएको अवस्थामा ८०/९० करोड रुपैयाँमा नै रंगशाला बन्न सक्ने बालेनको भनाइ छ।

‘नेपाल सरकारले काठमाडौं महानगर वा आसपासमा आवश्यक १०० रोपनी जग्गा उपलब्ध गराउँछ भने काठमाडौं महानगरबाट रंगशाला बनाउन हामी पहल गर्नेछौँ। यस्तो मात्रै रंगशाला र केही ठुला खेलहरु हुने हो भने खेल विकास हुन सक्छ,’ बालेनले सामाजिक सञ्जालमा लेखेका छन्।

नेपाल र भारतबीचको खेल भएको पल्लेकेल स्टेडियम पनि काठमाडौंको कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानको स्तरकै रहेको उल्लेख गर्दै बालेनले त्यहाँ केही थप सुविधा भने उपलब्ध रहेको बताएका छन्।

क्रिकेट हेर्नका लागि आफू श्रीलंका जाँदा त्यहाँको अध्यागमनका कर्मचारीले ‘यति धेरै नेपालीहरु एक्कासी श्रीलंका किन आइरहेका छन्रु’ भनेर सोधेको बालेनको भनाइ छ। रंगशालामा ४०/५० जनाको संख्यामा मात्रै भारतीय समर्थकहरु रहेकोमा नेपाली फ्यानहरु भने १ हजार ५०० देखि २ हजारको संख्यामा रंगशाला पुगेको बालेनले उल्लेख गरेका छन्।
‘नेपाली क्रिकेट फ्यानहरु विभिन्न देशबाट श्रीलंका पुगेका थिए। अनुमानित हिसाब गर्ने हो भने त्यहाँ पुगेका सबै नेपालीहरुको मात्रै खर्च ३० करोड पुग्यो होला,’ बालेनको भनाइ छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै