उपप्रधानमन्त्री पोखरेलद्वारा उपचार सहज बनाउन कैलालीका प्रजिअलाई निर्देशन
उपप्रधानमन्त्री ईश्वर पोखरेलले कैलालीमा कोरोना भाइरसका कारण उत्पन्न पछिल्लो स्थितिबारे जानकारी लिँदै राज्यको उपस्थिति जनाउन त्यहाँका प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिएको छ ।
कोभिड–१९ रोकथाम र नियन्त्रण उच्चस्तरीय समितिका संयोजक पोखरेलले आज प्रजिअ खगेन्द्रप्रसाद रिजाललाई टेलिफोन गरी सो जिल्लामा बिरामीले उपचार नपाएको, शव व्यवस्थापन नभएका जस्ता गुनासो तत्काल सम्बोधन गर्न निर्देशन दिएका हुन ।
उनले संकटको अवस्था रहेकाले जनताले अनुभुति गर्ने गरी राज्यको उपस्थिति जनाउन, जनतालाई राहतको महसुश गराउन र सरकारले गरेका निर्णयलाई कार्यान्वयन गर्न पनि आग्रह गरेका छन ।
मन्त्रिपरिषद्ले उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टलाई सुदूरपश्चिम प्रदेशको समन्वय गर्न तोकेको जानकारी गराउँदै उपप्रधानमन्त्री पोखरेलले समस्या परे सिधै आफू वा सिसिएमसी हेर्ने प्रधानमन्त्री कार्यालयका सचिवलाई सम्पर्क पनि गर्न निर्देशन दिएका हुन ।
उपप्रधानमन्त्री पोखरेलले सिमा नाकाको व्यवस्थापन, गेटा मेडिकल कलेजमा निर्माण होल्डिङ सेन्टर र कोरोना विशेष अस्पताल निर्माणका विषयमा भएका प्रगतिका बारेमा पनि जानकारी लिएको बताइएको छ र
प्रजिअ रिजालले गेटा मेडिकल कलेजमा करिब दुई हजार जना अट्ने होल्डिङ सेन्टर, कोरोना विशेष अस्पताल र आइसोलेशन सेन्टर बनाइरहेको जानकारी दिए । त्यसका लागि धनगढी उपमहानगरपालिका र गोदावरी नगरपालिकालाई संयुक्त व्यवस्थापनको जिम्मा दिइएको छ ।
उपप्रधानमन्त्री पोखरेलले हिजो मात्रै बाँकेका प्रमुख जिल्ला अधिकारीलाई पनि टेलिफोन गरी कोरोनाका बिरामीको उपचारमा कुनै कसर बाँकी नराख्न निर्देशन दिएका थिए ।