दसैँमा यात्रुलाई सहज बनाउन देशभर रुट परमिट खुला, असोज २३ देखि अग्रिम टिकट – Nepalboli

दसैँमा यात्रुलाई सहज बनाउन देशभर रुट परमिट खुला, असोज २३ देखि अग्रिम टिकट

   २०८३ आश्विन २१, बुधबार  

काठमाडौं— दसैँमा घर फर्किने यात्रुको चापलाई मध्यनजर गर्दै सरकारले घटस्थापनादेखि पूर्णिमासम्म नेपालभर रुट परमिट खुला गर्ने निर्णय गरेको छ ।

यातायात व्यवस्था विभागमा बसेको नेपाल प्रहरी, ट्राफिक प्रहरी, यातायात व्यवसायी राष्ट्रिय महासंघलगायत सरोकारवालाको बैठकले दसैँ अवधिभर देशभर रुट परमिट खुला गर्ने निर्णय गरेको हो ।

बैठकले असोज २३ गतेदेखि दसैँका लागि अग्रिम टिकट बुकिङ खुला गर्ने निर्णयसमेत गरेको नेपाल राष्ट्रिय यातायात व्यवसायी महासंघका केन्द्रीय अध्यक्ष पुण्यप्रसाद सिटौलाले जानकारी दिए।

सिटौलाका अनुसार सडकको अवस्थालाई ध्यानमा राख्दै सवारी सञ्चालनमा यात्रुवाहक सवारीसाधनलाई पहिलो प्राथमिकता दिइनेछ । यात्रुवाहक सवारीसाधनपछि मात्रै अन्य सवारीसाधनलाई प्राथमिकता दिने व्यवस्था मिलाइनेछ ।

दसैँमा राजधानीलगायत प्रमुख सहरबाट ठूलो संख्यामा यात्रु गाउँघर फर्किने भएकाले यातायात व्यवस्थापनलाई प्रभावकारी बनाउन सरोकारवाला निकायबीच समन्वय गरेर आवश्यक तयारी अघि बढाइएको यातायात व्यवस्था विभागले जनाएको छ ।

यात्रुले टिकट पाउन समस्या नहोस्, अनावश्यक दुःख नपाऊन् र सुरक्षित रूपमा गन्तव्यसम्म पुग्न सकून् भन्ने उद्देश्यले अग्रिम टिकट बुकिङसहित यातायात व्यवस्थापनको तयारी अघि बढाइएको विभागका महानिर्देशक राजीव पोखरेलले बताए ।

दसैँ अवधिमा बढ्ने यात्रुको चापलाई व्यवस्थापन गर्न सवारी सञ्चालन, टिकट व्यवस्था, सडकको अवस्था र यात्रुको सुरक्षालाई प्राथमिकतामा राखिने विभागले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै