कांग्रेस महाधिवेशनको चौथो दिनः उम्मेदवारको अन्तिम सूची सार्वजनिक हुँदै, दिनभर प्रचार
काठमाडौ— नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत आज चौथो दिन केन्द्रीय कार्यसमिति चयनका लागि निर्वाचन प्रक्रियाका महत्वपूर्ण चरण पूरा हुँदैछन् । निर्वाचन कार्यतालिकाअनुसार आज उम्मेदवारी फिर्ता, अन्तिम उम्मेदवारको नामावली प्रकाशन र चुनावी प्रचारप्रसारका कार्यक्रम तय भएका छन् ।
केन्द्रीय निर्वाचन समितिका अनुसार बिहान ९ः०० बजेसम्म उम्मेदवारले उम्मेदवारी फिर्ता लिन तथा उम्मेदवारीसम्बन्धी आवश्यक संशोधनका लागि निवेदन दिन सक्नेछन् ।
त्यसपछि बिहान १०ः०० बजे उम्मेदवारको अन्तिम नामावली सार्वजनिक गरिनेछ । अन्तिम सूची सार्वजनिक भएसँगै महाधिवेशनमा चुनावी प्रतिस्पर्धाको औपचारिक तस्वीर स्पष्ट हुनेछ ।
निर्वाचन समितिले आज दिनभर उम्मेदवारहरूलाई प्रचारप्रसारका लागि समय दिएको छ । उम्मेदवार तथा उनीहरूका समूहले महाधिवेशन प्रतिनिधिसँग भेटघाट गर्दै आफ्नो पक्षमा समर्थन जुटाउनेछन् ।
कांग्रेसको नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि भोलि असोज २२ गते मतदान हुँदैछ । कार्यतालिकाअनुसार बिहान ७ः०० बजेदेखि साँझ ५ः०० बजेसम्म मतदान हुनेछ । मतदानका लागि राष्ट्रिय सभागृह, खुलामञ्च र प्रज्ञा भवनलाई केन्द्र तोकिएको छ । मतदान सकिएलगत्तै मतगणना सुरु गरिने निर्वाचन समितिले जनाएको छ ।