आज देशभर वर्षाको सम्भावना, कोशीमा धेरै भारी वर्षाको चेतावनी – Nepalboli

आज देशभर वर्षाको सम्भावना, कोशीमा धेरै भारी वर्षाको चेतावनी

   २०८३ आश्विन ७, बुधबार  

काठमाडौं— देशभर आज मौसम बदली रहनेछ भने विभिन्न प्रदेशका हिमाली, पहाडी तथा तराई क्षेत्रमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । कोशी प्रदेशका केही स्थानमा भारीदेखि धेरै भारी वर्षा हुनसक्ने भएकाले सतर्कता अपनाउनुपर्ने देखिएको छ ।

महाशाखाका अनुसार कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली तथा पहाडी भू–भागका केही स्थानमा तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भू–भागका थोरै स्थानमा मध्यम वर्षा तथा हिमपातको सम्भावना छ ।

मधेश प्रदेशसहित कोशी, बागमती, गण्डकी र लुम्बिनीका तराई भू–भागका केही स्थान तथा सुदूरपश्चिमको तराई भू–भागका थोरै स्थानमा पनि मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुनसक्नेछ ।

दिउँसो कोशी र बागमती प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा भारी वर्षा हुने सम्भावना रहेको महाशाखाले जनाएको छ ।

राति वर्षाको प्रभाव थप बढ्न सक्ने

रातिको समयमा पनि देशभर सामान्यतया बदली रहने पूर्वानुमान छ। कोशी प्रदेशका धेरै स्थान तथा बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भू–भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपात हुनसक्नेछ ।

लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भू–भागका थोरै स्थानमा पनि वर्षा तथा हिमपातको सम्भावना छ ।

त्यस्तै, मधेश प्रदेश तथा बागमती, गण्डकी र लुम्बिनीका तराई भू–भागका केही स्थान र सुदूरपश्चिमको तराई भू–भागका थोरै स्थानमा राति मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुनसक्ने महाशाखाले जनाएको छ ।

राति कोशी प्रदेशका थोरै स्थान तथा बागमतीका पहाडी र तराई भू–भाग एवं गण्डकी र लुम्बिनीका तराई भू–भागका एक–दुई स्थानमा भारी वर्षा हुने सम्भावना छ ।

महाशाखाका अनुसार कोशी प्रदेशका पहाडी तथा तराई भू–भागका एक–दुई स्थानमा धेरै भारी वर्षासमेत हुनसक्ने भएकाले सम्भावित वर्षाजन्य जोखिमप्रति आवश्यक सावधानी अपनाउनुपर्नेछ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै