कांग्रेसको स्थानीय नेतृत्व चयनको अर्को चरणः भोलि देशभर पालिका अधिवेशन
काठमाडौं— नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत भोलि असोज ७ गते देशभर पालिका तहको अधिवेशन हुँदैछ । वडा तहबाट सुरु भएको महाधिवेशन प्रक्रिया अब स्थानीय तहको नेतृत्व चयनको चरणमा प्रवेश गरेको हो ।
असोज ३ गते सम्पन्न वडा अधिवेशनपछि कांग्रेसले पालिका तहमा नयाँ नेतृत्व चयन गर्न लागेको हो । केही स्थानमा अधिवेशन बाँकी रहे पनि अधिकांश वडामा नेतृत्व चयन प्रक्रिया शान्तिपूर्ण रूपमा सम्पन्न भएको केन्द्रीय निर्वाचन समितिले जनाएको छ ।
प्राकृतिक विपत्ति र विभिन्न चुनौतीका बाबजुद निर्वाचन समितिले महाधिवेशनको कार्यतालिका अघि बढाएको जनाएको छ । बाढीपहिरो प्रभावित नुवाकोट र धादिङका सबै वडामा आज अधिवेशन सम्पन्न भएको छ । यस्तै सिरहा, सप्तरी, सर्लाही र पर्साका बाँकी केही वडामा पनि अधिवेशन सम्पन्न भएको निर्वाचन समितिले जनाएको छ ।
तर, भीषण बाढीपहिरोबाट ठूलो क्षति बेहोरेको रसुवामा भने विशेष परिस्थितिका कारण केही दिनपछि मात्रै अधिवेशन गर्ने तयारी गरिएको छ । निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालले रसुवाको अवस्थालाई ध्यानमा राखेर अधिवेशनको मिति पछि सारिएको जानकारी दिएका छन् ।
यसपटक क्रियाशील सदस्यता व्यवस्थापनका कारण केही स्थानमा अधिवेशन तयारीमा सामान्य ढिलाइ भएको निर्वाचन समितिले स्पष्ट पारेको छ । पार्टी केन्द्रीय समितिले २०८२ पुस २१ गतेसम्म नवीकरण भएका क्रियाशील सदस्यलाई समेत समेट्ने निर्णय गरेपछि पुरानो विवरणमा नयाँ नाम समावेश गरी सूची अन्तिम रूप दिन समय लागेको हो ।
सदस्य सचिव कटुवालका अनुसार सदस्यता सूची व्यवस्थापनमा देखिएको ढिलाइ राजनीतिक विवादका कारण नभई ठूलो संख्याको तथ्यांक एकीकृत गर्दा देखिएको प्राविधिक समस्या हो ।
पालिका सभापतिसहित पाँच पदाधिकारी निर्वाचित हुने
कांग्रेसको नयाँ विधान तथा निर्वाचन निर्देशिकाअनुसार भोलिको पालिका अधिवेशनबाट प्रत्येक पालिकामा पाँच जना पदाधिकारी निर्वाचित हुनेछन् ।
निर्वाचित हुने पदाधिकारीमा सभापति, एक महिलासहित दुई उपसभापति, एक सचिव र एक सहसचिव रहनेछन् । कोषाध्यक्ष भने सभापतिले निर्वाचित कार्यसमिति सदस्यमध्येबाट मनोनयन गर्ने व्यवस्था छ ।
पालिका कार्यसमितिको सदस्य संरचनामा पनि समावेशितालाई प्राथमिकता दिइएको छ । प्रत्येक वडाबाट एक महिला र एक खुला सदस्य तथा युवा क्लस्टरबाट एक महिला र दुई खुला सदस्य निर्वाचित हुने व्यवस्था गरिएको छ । दलित समुदायबाट पनि एक महिला र एक खुला सदस्य निर्वाचित हुनेछन् ।
कार्यसमितिलाई थप समावेशी बनाउन गाउँ कार्यसमितिमा सात, नगरमा नौ, उपमहानगरमा ११ र महानगर कार्यसमितिमा १३ जना सदस्य मनोनयन गर्न सकिने व्यवस्था गरिएको छ ।
मनोनयन गर्दा निर्वाचनबाट प्रतिनिधित्व हुन नसकेका समुदायलाई प्राथमिकता दिनुपर्ने व्यवस्था निर्वाचन निर्देशिकामा गरिएको छ ।
पालिका अधिवेशनसँगै कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत स्थानीय तहमा नयाँ नेतृत्व चयनको प्रक्रिया थप अघि बढ्नेछ ।