बाढीपछिको नेपालको मुद्दा बोकेर प्रधानमन्त्री बालेन अमेरिका प्रस्थान – Nepalboli

बाढीपछिको नेपालको मुद्दा बोकेर प्रधानमन्त्री बालेन अमेरिका प्रस्थान

   २०८३ आश्विन ६, मंगलवार  

काठमाडौं— प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै मंगलबार साँझ अमेरिका प्रस्थान गरेका छन् ।

प्रधानमन्त्री शाह साँझ ७ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट कतारको दोहा हुँदै अमेरिकाको न्युयोर्कतर्फ प्रस्थान गरेका हुन् । उनको भ्रमणका क्रममा नेपालको पछिल्लो विपद्, जलवायु परिवर्तन र त्यसबाट नेपालले भोगिरहेको असरका विषय अन्तर्राष्ट्रिय समुदायसमक्ष उठाउने तयारी छ ।

प्रधानमन्त्री शाहलाई दोहास्थित हमाद अन्तर्राष्ट्रिय विमानस्थलमा कतारका लागि नेपालका कार्यवाहक राजदूतसहित वरिष्ठ अधिकारीहरूले स्वागत गर्ने कार्यक्रम छ । उनी असोज ७ गते (२३ सेप्टेम्बर) दोहाबाट न्युयोर्क प्रस्थान गर्नेछन् ।

न्युयोर्क पुगेपछि प्रधानमन्त्री शाहलाई संयुक्त राष्ट्रसङ्घका लागि नेपालका स्थायी प्रतिनिधि, अमेरिकाका लागि नेपालका कार्यवाहक राजदूतलगायत अधिकारीहरूले स्वागत गर्नेछन् ।

सोही दिन प्रधानमन्त्री शाह संयुक्त राष्ट्रसङ्घका लागि नेपालको स्थायी नियोग पुग्नेछन् । त्यहाँ परराष्ट्र सचिव, संयुक्त राष्ट्रसङ्घका लागि नेपालका स्थायी प्रतिनिधि, अमेरिकाका लागि नेपालका कार्यवाहक राजदूत तथा न्युयोर्कस्थित नेपाली महावाणिज्यदूतले भ्रमणका विषयमा उनलाई ब्रिफिङ गर्ने कार्यक्रम छ ।

त्यसपछि प्रधानमन्त्री शाहको सम्मानमा स्थायी प्रतिनिधिहरूले आयोजना गर्ने समारोहमा उनी सहभागी हुनेछन् ।

असोज ८ गते (२४ सेप्टेम्बर) प्रधानमन्त्री शाहले संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेससँग भेटवार्ता गर्नेछन् । त्यसलगत्तै उनले संयुक्त राष्ट्रसङ्घको महासभालाई नेपालको प्रतिनिधित्व गर्दै सम्बोधन गर्ने कार्यक्रम छ ।

महासभाको सम्बोधनमार्फत प्रधानमन्त्री शाहले नेपालको समसामयिक अवस्था, अन्तर्राष्ट्रिय सहकार्य तथा जलवायु परिवर्तनबाट नेपालले भोगिरहेको असरका विषयमा नेपालको धारणा प्रस्तुत गर्ने अपेक्षा गरिएको छ ।

प्रधानमन्त्री शाह असोज ९ गते (२५ सेप्टेम्बर) न्युयोर्कबाट दोहा फर्कनेछन् । दोहामा उनलाई नेपाली अधिकारीहरूले स्वागत तथा बिदाइ गर्ने कार्यक्रम छ ।

प्रधानमन्त्री शाह असोज १० गते (२६ सेप्टेम्बर) काठमाडौं फर्कने तालिका रहेको छ ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै