सर्लाहीमा स्यालको आतंकः २० दिनमा १० जना घाइते, तीन दर्जनभन्दा बढी पशुचौपाया प्रभावित – Nepalboli

सर्लाहीमा स्यालको आतंकः २० दिनमा १० जना घाइते, तीन दर्जनभन्दा बढी पशुचौपाया प्रभावित

   २०८३ आश्विन ५, सोमबार  

सर्लाही— हरिवन नगरपालिकाका विभिन्न वडामा स्यालको आक्रमण बढेपछि स्थानीयवासी त्रसित बनेका छन् । पछिल्लो २० दिनमा स्यालको टोकाइबाट १० जना मानिस घाइते भएका छन् भने तीन दर्जनभन्दा बढी पशुचौपाया घाइते भएको स्थानीय जनप्रतिनिधिले बताएका छन् ।

वनक्षेत्रबाट बस्तीमा प्रवेश गरेका स्यालका हुलले मानिस तथा पशुचौपायामाथि आक्रमण गर्न थालेपछि हरिवन नगरपालिका–१, ६ र ८ का बासिन्दा बढी प्रभावित भएका छन् ।

एकै साँझ बालिकासहित चार जनामाथि आक्रमण

गएको शुक्रबार साँझ मात्रै एक बालिकासहित चार जनामाथि स्यालले आक्रमण गरेको थियो ।

घाइते हुनेमा ३० वर्षीया शर्मिला मैनाली, ३५ वर्षीया सावित्रा कुमारी मैनाली, ५७ वर्षीया देवमाया शिवाकोटी र दुई वर्षीया गोपिकाकुमारी महतो छन् ।

घर वरपर काम गरिरहेका बेला स्यालले आक्रमण गर्दा उनीहरूको हात, खुट्टालगायत शरीरका विभिन्न भागमा गहिरो चोट लागेको बताइएको छ ।

दिउँसै बस्तीमा स्याल पस्दा स्थानीय त्रसित

वनक्षेत्र नजिकै रहेका बस्तीमा स्यालले दिउँसै प्रवेश गरेर मानिस र पशुचौपायामाथि आक्रमण गर्न थालेपछि स्थानीयवासी घरबाहिर निस्कनसमेत डराउन थालेका छन् ।

स्थानीयका अनुसार स्यालको बढ्दो आक्रमणले सर्वसाधारणमा त्रास बढेको छ । मानिससँगै पशुचौपाया पनि निरन्तर आक्रमणको जोखिममा परेका छन् ।

स्थानीयवासीले आक्रमण नियन्त्रण, प्रभावित क्षेत्रमा सुरक्षा र स्यालको गतिविधिबारे आवश्यक कदम चाल्न सम्बन्धित निकायको ध्यानाकर्षण गराउनुपर्ने अवस्था देखिएको बताएका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै