ओलीको आपत्तिपछि एमाले सचिवालय बैठकमा पुनर्गठन प्रतिवेदनमाथि छलफल
काठमाडौं— नेकपा (एमाले) को सचिवालय बैठक पार्टी केन्द्रीय कार्यालय च्यासलमा जारी छ । पुनर्गठन कार्यदलको प्रतिवेदन र त्यसमा अध्यक्ष केपी शर्मा ओलीले उठाएको आपत्तिपछि केन्द्रीय कमिटी बैठकको एजेन्डा तय गर्न सचिवालय बैठक बसेको हो ।
आइतबारको सचिवालय बैठकमा पुनर्गठन कार्यदलले आफ्नो प्रतिवेदन पेस गरेको थियो । प्रतिवेदनमा राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद्को बैठक बोलाउने तथा ७० वर्षे उमेरहद र दुई कार्यकालको व्यवस्था आगामी विधान महाधिवेशनमा छलफल गर्ने निर्णय समेटिएको थियो ।
तर, अध्यक्ष ओलीले कार्यदलको उक्त निर्णयप्रति असहमति जनाएका छन् । नेताहरूका अनुसार ओलीले सुरुमा कार्यदलको प्रतिवेदन स्वीकार गर्नसमेत हिचकिचाएका थिए ।
आइतबारको बैठक पुनर्गठन कार्यदलको प्रतिवेदनमै केन्द्रित भएपछि केन्द्रीय कमिटी बैठकका एजेन्डा तय गर्न सोमबार पनि सचिवालय बैठक बोलाइएको हो ।
एमालेले सोमबार बिहान ११ बजे केन्द्रीय कमिटी बैठक बस्ने समय निर्धारण गरेको छ । त्यसअघि सचिवालय बैठकबाट केन्द्रीय कमिटी बैठकमा प्रस्तुत गरिने विषयहरू टुंगो लगाउने तयारी छ ।