टेक्सासमा आईसीई एजेन्टको गोलीकाण्डपछि प्रदर्शन चर्कियो, अनुसन्धानमा स्थानीय प्रहरीको सहभागिता माग – Nepalboli

टेक्सासमा आईसीई एजेन्टको गोलीकाण्डपछि प्रदर्शन चर्कियो, अनुसन्धानमा स्थानीय प्रहरीको सहभागिता माग

   २०८३ आश्विन ५, सोमबार  

अस्टिन — अमेरिकाको टेक्सास राज्यको राजधानी अस्टिनमा सङ्घीय आप्रवासन तथा भन्सार प्रवर्तन (आईसीई) का एजेन्टले ट्राफिक जाँचका क्रममा गोली चलाउँदा एक व्यक्ति गम्भीर घाइते भएका छन्। घटनापछि स्थानीय प्रहरीको भूमिकासहित अनुसन्धानको पारदर्शितालाई लिएर प्रश्न उठेको छ ।

आइतबार दिउँसो भएको गोलीकाण्डमा घाइते व्यक्तिको ढाडमा गोली लागेको अस्टिन प्रहरी प्रमुख लिसा डेविसले जानकारी दिइन् । अस्पतालमा उपचाररत उनको अवस्था गम्भीर भए पनि स्थिर रहेको प्रहरीले जनाएको छ । घाइतेको राष्ट्रियता र अन्य व्यक्तिगत विवरण भने सार्वजनिक गरिएको छैन ।

घटनापछि करिब १०० जना प्रदर्शनकारी सडकमा उत्रिएका थिए । सहभागीहरूले आईसीईको कारबाहीविरुद्ध नाराबाजी गर्दै ‘कोही सुरक्षित छैन’ र ‘आईसीई नाजी’ लेखिएका प्लेकार्ड प्रदर्शन गरेका थिए । केही सवारीचालकले हर्न बजाएर प्रदर्शनप्रति समर्थन जनाएका थिए ।

अनुसन्धानमा स्थानीय प्रहरीलाई समेट्न मेयरको माग

अस्टिनका मेयर किर्क वाट्सनले घटनाको अनुसन्धानमा स्थानीय प्रहरीलाई अनिवार्य रूपमा सहभागी गराउन माग गरेका छन् । अनुसन्धान सङ्घीय आप्रवासन निकायको जिम्मामा मात्र सीमित गर्न नहुने उनको भनाइ छ ।

‘स्थानीय प्रहरीको सहभागिताले अनुसन्धानमा थप पारदर्शिता र निष्पक्षता कायम गर्न मद्दत गर्नेछ । अस्टिनका नागरिकलाई आफ्नो सहरमा सुरक्षित महसुस गर्ने अधिकार छ,’ वाट्सनले भने ।

प्रहरीले घटनामा अस्टिन प्रहरी विभागका कुनै अधिकारी संलग्न नरहेको स्पष्ट पारेको छ । गोली चलेपछि घटनास्थलमा ठूलो सङ्ख्यामा कानुन कार्यान्वयन अधिकारी परिचालन गरिएको थियो ।

कारमा गोली लागेको चिन्ह, सङ्घीय निकाय मौन

प्रहरीको विशेष अनुसन्धान इकाइले घटनास्थल पुगेर अनुसन्धान सुरु गरेको छ । घटनास्थलमा भेटिएको गाढा नीलो टोयोटा कोरोला कारको यात्रु बस्नेपट्टिको ढोकामा क्षति देखिएको छ । स्थानीय सञ्चारमाध्यमका अनुसार कारमा गोली लागेजस्तो चिन्हसमेत फेला परेको छ ।

घटनाबारे प्रतिक्रिया लिन खोज्दा गृह सुरक्षा विभागका प्रतिनिधि पत्रकार सम्मेलनमा सहभागी भएनन् । विभागले घटनाबारे तत्काल कुनै प्रतिक्रिया दिएको छैन । गोली चलाउने सङ्घीय एजेन्टको वर्तमान अवस्थाबारे आफूलाई जानकारी नभएको मेयर वाट्सनले बता ए।

आप्रवासन कारबाहीमाथि बढ्दो बहस

अमेरिकामा आईसीईको आप्रवासन नियन्त्रण अभियान तीव्र भइरहेका बेला अस्टिनको घटना सार्वजनिक भएको हो । जुलाई र अगस्टमा आईसीईले पहिलोपटक एकै महिनामा ५० हजारभन्दा बढी आप्रवासीलाई गिरफ्तार गरेको उल्लेख गरिएको छ ।

यसअघि जुलाईमा ह्युस्टनमा ५२ वर्षीय लोरेन्जो सालगाडो अराउजोको आईसीई अधिकारीको गोलीबाट मृत्यु भएको थियो । त्यही महिना मेन राज्यमा २५ वर्षीय कोलम्बियाली नागरिक जोहान सेबास्टियनलाई पनि अधिकारीहरूले गोली हानेका थिए ।

अस्टिनबाट निर्वाचित डेमोक्रेट सांसद ग्रेग केसारले घटनाको पारदर्शी अनुसन्धान र सहरमा आईसीईको कारबाही विस्तार रोक्न माग गरेका छन् । पछिल्ला घटनाले सङ्घीय आप्रवासन कारबाही, अधिकारीहरूको जवाफदेहिता र स्थानीय प्रहरीको भूमिकासम्बन्धी बहसलाई थप तीव्र बनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै