परराष्ट्र मन्त्रालयमा जलवायु कूटनीति शाखा स्थापना, अन्तर्राष्ट्रिय पहललाई संस्थागत प्राथमिकता
काठमाडौँ— जलवायु परिवर्तनका मुद्दामा नेपालको अन्तर्राष्ट्रिय कूटनीतिक भूमिका थप प्रभावकारी बनाउने उद्देश्यले परराष्ट्र मन्त्रालयले पहिलोपटक जलवायु कूटनीति शाखा स्थापना गरेको छ ।
मन्त्रालयका अनुसार जलवायु परिवर्तनको बढ्दो प्रभाव र वातावरणीय चुनौतीलाई ध्यानमा राख्दै संगठन तथा व्यवस्थापन सर्वेक्षण (ओएन्डएम)का आधारमा नयाँ शाखा स्थापना गरिएको हो ।
संयुक्त राष्ट्रसंघ तथा विशिष्टीकृत संघसंस्था महाशाखाअन्तर्गत रहने ‘आर्थिक, सामाजिक विकास तथा जलवायु कूटनीति शाखा’को नेतृत्व उपसचिवले गर्ने व्यवस्था गरिएको छ ।
राष्ट्रिय निकायसँग समन्वयदेखि अन्तर्राष्ट्रिय पहलसम्म
नयाँ शाखाले जलवायु तथा वातावरणसम्बन्धी अन्तर्राष्ट्रिय कूटनीतिक पहलमा सहजीकरण गर्नुका साथै सम्बन्धित राष्ट्रिय निकायसँग समन्वय गर्नेछ । नेपालले जलवायु परिवर्तन र वातावरण संरक्षणका विषयमा राष्ट्रिय, क्षेत्रीय तथा अन्तर्राष्ट्रिय मञ्चमा गर्दै आएको सहभागितालाई थप व्यवस्थित बनाउने मन्त्रालयको उद्देश्य छ ।
परराष्ट्रमन्त्री शिशिर खनालले जलवायु कूटनीतिलाई अन्तर्राष्ट्रिय सम्मेलन र कार्यक्रममा सहभागितामा मात्र सीमित नराखी दीर्घकालीन संस्थागत प्राथमिकताका रूपमा अघि बढाउनुपर्ने बताए ।
उनले मुलुकको दीर्घकालीन हितलाई केन्द्रमा राखेर जलवायु कूटनीतिलाई संस्थागत गर्न शाखा स्थापना गरिएको स्पष्ट पारे ।
मन्त्री खनालका अनुसार हाल शाखामार्फत काम अघि बढाइनेछ । आवश्यकता र कार्यबोझका आधारमा भविष्यमा शाखाको संस्थागत संरचनालाई थप सुदृढ गर्न सकिने उनले बताए ।
जलवायु परिवर्तनका प्रभाव तथा विपद्का घटनासँग सम्बन्धित विषयमा मात्र नभई नियमित रूपमा जलवायु कूटनीतिका प्राथमिकता र पहल अघि बढाउनुपर्नेमा पनि मन्त्री खनालले जोड दिए ।