नयाँ प्रणालीबाट लाइसेन्स छपाइ सुरु, पहिलो चरणमा मधेशका ३ हजार ८१ अनुमतिपत्र – Nepalboli

नयाँ प्रणालीबाट लाइसेन्स छपाइ सुरु, पहिलो चरणमा मधेशका ३ हजार ८१ अनुमतिपत्र

   २०८३ आश्विन ४, आईतवार  

काठमाडौँ—लामो समयदेखि सवारी चालक अनुमतिपत्र (लाइसेन्स) छपाइमा देखिँदै आएको समस्या समाधान गर्ने उद्देश्यले सरकारले नयाँ प्रणालीमार्फत छपाइ प्रक्रिया अघि बढाएको छ ।

सरकारले साउन १ गतेदेखि कार्यान्वयनमा ल्याएको विद्युतीय ड्राइभिङ लाइसेन्स तथा सवारी दर्ता प्रणाली (ईडीएलभिआरएस) मार्फत लाइसेन्स छपाइ सुरु गरेको हो । यातायात व्यवस्था विभागले सेवाग्राहीको चाप र छपाइमा देखिएका समस्यालाई सम्बोधन गर्न नयाँ प्रणाली कार्यान्वयनमा ल्याएको जनाएको छ ।

नयाँ व्यवस्थाअनुसार ईडीएलभिआरएसमा अपलोड गरिएका सेवाग्राहीका विवरण सिधै सुरक्षण मुद्रणमा पुग्नेछन् । सुरक्षण मुद्रणले लाइसेन्स छपाइ गरेपछि हुलाकमार्फत सम्बन्धित यातायात व्यवस्था सेवा कार्यालयमा पठाउने व्यवस्था मिलाइएको छ ।

यस प्रक्रियाले लाइसेन्स छपाइ तथा वितरणमा हुने ढिलाइ घटाउँदै नयाँ अनुमतिपत्र लिने र पुरानो नवीकरण गर्ने सेवाग्राहीलाई सहजता पुग्ने अपेक्षा गरिएको छ ।

मधेशबाट छपाइ सुरु, लुम्बिनीले पनि थाल्यो प्रक्रिया

नयाँ प्रणालीअन्तर्गत पहिलो चरणमा मधेश प्रदेशका ३ हजार ८१ वटा सवारी चालक अनुमतिपत्र छपाइ गरी वितरणका लागि सम्बन्धित यातायात व्यवस्था सेवा कार्यालयमा हुलाकमार्फत पठाइएको छ ।

प्रदेश सरकारले सुरक्षण मुद्रणसँग सम्झौता गरेर आफ्नै व्यवस्थापनमा लाइसेन्स छपाइ गर्न सक्ने व्यवस्था गरिएको छ । सोहीअनुसार मधेश प्रदेश सरकारले सम्झौता गरी लाइसेन्स छपाइ गरिरहेको छ भने लुम्बिनी प्रदेशले पनि शुक्रबार सुरक्षण मुद्रणसँग सम्झौता गर्दै छपाइ प्रक्रिया सुरु गरेको छ ।

सम्बन्धित प्रदेशले सुरक्षण मुद्रणसँग सम्झौता नगरेको अवस्थामा सेवाग्राहीको चाप र समस्यालाई ध्यानमा राख्दै यातायात व्यवस्था विभाग तथा सुरक्षण मुद्रणको समन्वयमा लाइसेन्स छपाइ गरिनेछ ।

विभागका अनुसार नयाँ प्रणालीमार्फत प्रदेशअनुसार छपाइको जिम्मेवारी व्यवस्थापन गरी सेवाग्राहीलाई सवारी चालक अनुमतिपत्र सहज, छिटो र समयमै उपलब्ध गराउने व्यवस्था कार्यान्वयनमा ल्याइएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै