एन्फा कार्यालयमा सिआइबीको छापा, कागजात नियन्त्रणमाः पदाधिकारीसँग सोधपुछ
काठमाडौँ— अखिल नेपाल फुटबल संघ ९एन्फामाथि० भइरहेको अनुसन्धानलाई अघि बढाउँदै प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले एन्फा मुख्यालयमा छापा मारेको छ । सिआइबीको टोलीले केही महत्वपूर्ण कागजात नियन्त्रणमा लिएर एन्फाका पदाधिकारीसँग सोधपुछ गरेको हो ।
अनुसन्धानका क्रममा एन्फाका कोषाध्यक्ष रवीन्द्र जोशीसँग समेत सिआइबीले सोधपुछ गरेको जनाइएको छ । सिआइबीका प्रवक्ता एसएसपी अनुपम शमशेर जबराले एन्फासम्बन्धी अनुसन्धानकै क्रममा कार्यालयमा पुगिएको पुष्टि गरेका छन्।
‘हामीले एन्फाको विषयमा अनुसन्धान गरिरहेका थियौँ । त्यसकै सिलसिलामा एन्फा कार्यालयमा गएका हौँ । केही कागजातहरू नियन्त्रणमा लिएर अनुसन्धान गर्नेछौँ । केही पदाधिकारीहरूमाथि सोधपुछ गरेका छौँ । अहिले कसैलाई नियन्त्रणमा लिएका छैनौँ,’ उनले भने ।
फिफा प्रतिबन्धको पृष्ठभूमिमा अनुसन्धान तीव्र
एन्फामाथि फिफाले प्रतिबन्ध लगाएको करिब चार महिना पुगेको छ । राष्ट्रिय खेलकुद परिषद्ले एन्फालाई निलम्बन गरेपछि सर्तसहित निलम्बन फुकुवा गरेको थियो । तर फिफाले विनाशर्त निलम्बन फुकुवा गर्नुपर्ने अडान राख्दै एन्फामाथि प्रतिबन्ध लगाएको थियो ।
यसबीच एन्फाका पदाधिकारीले फुटबल गतिविधि सञ्चालनमा प्रभावकारी भूमिका निर्वाह नगरेको भन्दै खेलाडी तथा सरोकारवालाबाट आलोचना हुँदै आएको छ ।
बिहीबार एन्फा महासचिव किरण राईले पत्रकार सम्मेलनमार्फत सोमबारदेखि कार्यालय सञ्चालन गर्ने र खेलकुद गतिविधिलाई अघि बढाउने घोषणा गरेका थिए । तर कार्यालय नियमित सञ्चालनको घोषणा हुनुअघि नै सिआइबीको टोली एन्फा मुख्यालय पुगेर कागजात नियन्त्रणमा लिएको हो ।
सिआइबीले अनुसन्धान जारी रहेको जनाएको छ । हालसम्म कुनै पनि पदाधिकारीलाई नियन्त्रणमा नलिइएको प्रवक्ता जबराले स्पष्ट पारेका छन् ।