भारत भ्रमणमा अर्थमन्त्री वाग्लेः विपद् पुनर्निर्माणदेखि आर्थिक सहकार्यसम्म छलफल, यस्तो छ तीनदिने कार्यतालिका – Nepalboli

भारत भ्रमणमा अर्थमन्त्री वाग्लेः विपद् पुनर्निर्माणदेखि आर्थिक सहकार्यसम्म छलफल, यस्तो छ तीनदिने कार्यतालिका

   २०८३ आश्विन १, बिहीबार  

काठमाडौँ— अर्थमन्त्री डा.स्वर्णिम वाग्ले भारतको तीनदिने भ्रमणका लागि बिहीबार नयाँदिल्ली प्रस्थान गरेका छन् । भारतीय सरकारको निमन्त्रणामा भारत पुगेका वाग्लेको भ्रमणमा विपद्पछिको पुनर्निर्माण, द्विपक्षीय आर्थिक सहकार्य तथा राजनीतिक र कूटनीतिक विषयमा छलफल हुने भएको छ ।

बिहीबार बिहान ७ः३५ बजेको उडानबाट काठमाडौँबाट नयाँदिल्ली प्रस्थान गरेका अर्थमन्त्री वाग्लेले भ्रमणका क्रममा भारतीय उच्च अधिकारी, उद्योगी तथा अर्थशास्त्रका विज्ञहरूसँग भेटवार्ता गर्ने कार्यक्रम छ ।

भारतीय अर्थमन्त्रीसँग पहिलो भेटवार्ता

भ्रमणको पहिलो दिन बिहीबार साँझ ५ बजे अर्थमन्त्री वाग्लेले भारतीय समकक्षी निर्मला सीतारमणसँग भेटवार्ता गर्नेछन् । भेटमा दुई देशबीचको आर्थिक सम्बन्ध र सहकार्यका विभिन्न विषयमा छलफल हुने बताइएको छ ।

भ्रमणको दोस्रो दिन शुक्रबार बिहान ९ बजे पूर्वविदेशसचिव श्याम शरणले आयोजना गर्ने उच्चस्तरीय कूटनीतिक संवाद कार्यक्रममा वाग्ले सहभागी हुनेछन् ।

त्यसैगरी, शुक्रबार साँझ ५ बजे भारतीय विदेशमन्त्री डा. एस जयशंकरसँग भेटवार्ता गर्ने कार्यक्रम छ । साँझ साढे ७ बजे भारत व्यापार प्रवर्द्धन संगठनका अध्यक्ष जावेद अश्राफले आयोजना गर्ने भेटघाट कार्यक्रममा पनि उनी सहभागी हुनेछन् ।

भारतीय उद्योगी र अर्थशास्त्रीसँग संवाद

भ्रमणको अन्तिम दिन शनिबार बिहान साढे ९ बजे भारतीय उद्योग परिसंघले आयोजना गर्ने प्रतिष्ठित औद्योगिक घरानाहरूसँगको सम्मेलनमा अर्थमन्त्री वाग्ले प्रमुख वक्ताका रूपमा सहभागी हुनेछन् ।

त्यसपछि बिहान साढे ११ बजे दिल्ली स्कुल अफ इकोनोमिक्सले आयोजना गर्ने विकास अर्थनीतिसम्बन्धी प्राज्ञिक छलफलमा सहभागी हुने कार्यक्रम छ ।

अर्थमन्त्री वाग्ले शनिबार साँझ ४ बजे नेपाल फर्कने कार्यतालिका रहेको छ ।

भ्रमण टोलीमा को–को छन् ?

अर्थमन्त्री वाग्लेको भ्रमण टोलीमा अर्थ मन्त्रालयका सहसचिव अमृत लम्साल, परराष्ट्र मन्त्रालयका सहसचिव गेहेन्द्र राजभण्डारी र नयाँदिल्लीस्थित नेपाली राजदूतावासका उपनियोग प्रमुख डा। सुरेन्द्र थापालगायत सहभागी छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै