सेती नदीमा कुकुर फालिएको भिडियो भाइरल, महिलाको पहिचानमा जुट्यो प्रहरी – Nepalboli

सेती नदीमा कुकुर फालिएको भिडियो भाइरल, महिलाको पहिचानमा जुट्यो प्रहरी

   २०८३ भाद्र ३१, बुधबार  

धनगढी— बझाङमा पुलबाट कुकुरलाई सेती नदीमा फालिएको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि प्रहरीले घटनामा संलग्न महिलाको पहिचान र अनुसन्धान अघि बढाएको छ ।

जयपृथ्वी नगरपालिका–१० पानकोटस्थित पुलबाट एक महिलाले रातो रङको कुकुरलाई उर्लिएको सेती नदीमा फालेको भिडियो सार्वजनिक भएको हो ।

भिडियोमा नदीमा खसेपछि कुकुरले केहीबेर पानीमाथि टाउको राखेर बाँच्न संघर्ष गरेको देखिन्छ। त्यसपछि कुकुर नदीको तीव्र बहावसँगै बगेको दृश्यसमेत भिडियोमा देखाइएको छ ।

घटना कहिले भएको हो, कुकुर फाल्ने महिला को हुन् र यस्तो कार्य गर्नुको कारण के हो भन्ने विषयमा प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय बझाङका डीएसपी टेक जोराले सामाजिक सञ्जालमा भिडियो सार्वजनिक भएपछि प्रहरीको ध्यानाकर्षण भएको बताए ।

उनका अनुसार घटनाको वास्तविकता पत्ता लगाउन र संलग्न व्यक्तिको पहिचान गर्न बुझ्ने काम भइरहेको छ ।

घटनासम्बन्धी भिडियो सामाजिक सञ्जालमा व्यापक रूपमा फैलिँदै गएपछि पशु क्रूरतासम्बन्धी प्रश्नसमेत उठेको छ । प्रहरीले अनुसन्धानपछि घटनाको थप विवरण सार्वजनिक गर्ने जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै