गाँजाजस्तो पदार्थ बोकेको एम्बुलेन्स नियन्त्रणमा
सिरहा — प्रहरीले लागुऔषध गाँजाजस्तो देखिने पदार्थ बोकेको अवस्थामा सिरहाबाट एउटा एम्बुलेन्स नियन्त्रणमा लिएको छ । एम्बुलेन्सका चालक भने प्रहरीलाई देखेपछि फरार भएका छन् ।
जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार मंगलबार राति करिब ८ बजे चौहर्वी क्षेत्रबाट सिरहातर्फ आउँदै गरेको ज १ च १२१३ नम्बरको एम्बुलेन्समा लागुऔषध गाँजा लोड गरिएको भन्ने गोप्य सूचना प्राप्त भएको थियो ।
सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय, सिरहाबाट खटिएको प्रहरी टोलीले एम्बुलेन्सलाई पछ्याउँदै जाँदा सिरहा नगरपालिका–२ स्थित हुलाकी सडकखण्डमा एम्बुलेन्स छाडेर चालक फरार भएको प्रहरीले जनाएको छ ।
प्रहरीले एम्बुलेन्स नियन्त्रणमा लिएर जाँच गर्ने क्रममा त्यसमा पाँच बोरा लागुऔषध गाँजाजस्तो देखिने पदार्थ फेला पारेको जनाएको छ । बरामद पदार्थको तौल करिब १०५ किलो रहेको प्रहरीको प्रारम्भिक विवरणमा उल्लेख छ ।
बरामद पदार्थसहित एम्बुलेन्सलाई जिल्ला प्रहरी कार्यालय सिरहामा ल्याई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । फरार चालकको खोजी तथा पहिचान गर्ने कार्यसमेत जारी रहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।
प्रहरीले बरामद गरेको पदार्थ परीक्षण तथा अनुसन्धानपछि मात्रै गाँजा भएरनभएको यकिन हुने जनाएको छ।