आज सर्वदलीय बैठक बस्दै
काठमाडौं— राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनका लागि उच्चस्तरीय राजनीतिक संयन्त्र गठनको प्रस्ताव अघि सार्दै आज सर्वदलीय बैठक बोलाएका छन् ।
रास्वपाका प्रवक्ता जगदीश खरेलका अनुसार बैठक बुधबार बिहान ११ बजे सिंहदरबारस्थित रास्वपा संसदीय दलको कार्यालयमा बस्नेछ ।
बैठकमा विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनका लागि उच्चस्तरीय राजनीतिक संयन्त्र गठन गर्ने विषयमा शीर्ष राजनीतिक नेतृत्वबीच छलफल हुनेछ ।
खरेलका अनुसार पछिल्लो समय विपद् व्यवस्थापन, उद्धार तथा राहतका विषयमा राजनीतिक तहबाट साझा पहल आवश्यक देखिएकाले लामिछानेले सर्वदलीय छलफल आह्वान गरेका हुन् ।
बैठकमा सहभागी दलका नेताहरूबीच विपद्का समयमा राजनीतिक दलहरूबीच समन्वय कसरी प्रभावकारी बनाउने र प्रस्तावित संयन्त्रको स्वरूप तथा भूमिकाबारे समेत छलफल हुने अपेक्षा गरिएको छ।
रास्वपाले बैठकलाई विपद् व्यवस्थापनमा राजनीतिक दलहरूबीच साझा धारणा निर्माण गर्ने पहलका रूपमा अघि बढाउन खोजेको जनाएको छ।