कांग्रेस महाधिवेशनमा ‘द्विविधा नराखी’ सहभागी हुन गगन थापाको अपिल – Nepalboli

कांग्रेस महाधिवेशनमा ‘द्विविधा नराखी’ सहभागी हुन गगन थापाको अपिल

   २०८३ भाद्र ३१, बुधबार  

काठमाडौं— नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले १५औँ महाधिवेशनको तयारीलाई लिएर पार्टीभित्र देखिन सक्ने असमझदारी र अन्योललाई संवाद तथा विधिसम्मत प्रक्रियाबाट समाधान गर्दै अधिवेशनमा सक्रिय सहभागी हुन नेता–कार्यकर्तालाई आह्वान गरेका छन् ।

मंगलबार अपिल जारी गर्दै थापाले असोज ३ र ४ गते हुने वडा अधिवेशनदेखि केन्द्रीय महाधिवेशनसम्मका सबै प्रक्रियामा उत्साहपूर्वक सहभागी हुन क्रियाशील सदस्य, समर्थक तथा शुभेच्छुकलाई आग्रह गरेका हुन् ।

कांग्रेसको १५औँ महाधिवेशन असोज १६ देखि १९ गतेसम्म काठमाडौंमा हुँदैछ । त्यसअघि वडा, पालिका, प्रदेशसभा निर्वाचन क्षेत्र, प्रतिनिधिसभा निर्वाचन क्षेत्र र प्रदेश तहका अधिवेशन सम्पन्न गर्ने कार्यतालिका छ ।

थापाले कांग्रेसभित्र विचार र मत फरक हुनु स्वाभाविक भएको उल्लेख गर्दै त्यसलाई लोकतान्त्रिक अभ्यासकै हिस्सा मानेर अघि बढ्नुपर्ने बताएका छन् । असमझदारीलाई संवाद, सहमति, पार्टीको विधान र स्थापित पद्धतिबाट समाधान गर्नुपर्ने उनको जोड छ ।

‘अलमलमा नपरी अधिवेशनमा सहभागी हुनुहोस्’

महाधिवेशनलाई पार्टीको आन्तरिक लोकतन्त्र थप सुदृढ गर्ने अवसरका रूपमा उपयोग गर्नुपर्ने बताउँदै थापाले कुनै पनि प्रकारको अलमल वा द्विविधामा नपरी अधिवेशनका सबै चरणमा सहभागी हुन आग्रह गरेका छन् ।

उनले पार्टीको बृहत्तर हितलाई केन्द्रमा राखेर अधिवेशन प्रक्रिया अघि बढाउन भूमिका खेल्ने नेता तथा कार्यकर्ताप्रति धन्यवादसमेत व्यक्त गरेका छन् ।

पुससम्म नवीकरण भएका सबै क्रियाशील सदस्य सहभागी हुने

सभापति थापाका अनुसार २०८२ पुससम्म सदस्यता नवीकरण भएका सबै क्रियाशील सदस्यलाई अधिवेशन प्रक्रियामा सहभागी गराउने निर्णय भएको छ ।

अग्रज नेता, पदाधिकारी तथा विभिन्न तहका सदस्यबाट प्राप्त सुझावलाई ध्यानमा राखेर यस्तो निर्णय गरिएको उनको भनाइ छ । सदस्यता व्यवस्थापन समितिले क्रियाशील सदस्यको नामावली टुंग्याइसकेको र केन्द्रीय निर्वाचन समितिले अधिवेशन प्रक्रिया अघि बढाइसकेको थापाले बताएका छन् ।

निर्वाचन अधिकृतहरू पनि सम्बन्धित जिल्लामा खटिइसकेको उनले जानकारी दिएका छन् ।

तत्कालीन केन्द्रीय सदस्यलाई पनि सहभागी गराइने

विशेष महाधिवेशन हुनुअघिको केन्द्रीय कार्यसमितिका तत्कालीन पदाधिकारी तथा सदस्यलाई वर्तमान केन्द्रीय कार्यसमितिको सदस्यका रूपमा समावेश गर्ने निर्णय भदौ २८ गते बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठकले गरिसकेको थापाले बताएका छन् ।

त्यस निर्णयअनुसार उनीहरूलाई १५औँ महाधिवेशनमा केन्द्रीय सदस्यकै हैसियतमा सहभागी हुन उनले आग्रह गरेका छन् ।

वडा तहबाट सुरु हुने महाधिवेशन अभियानले कांग्रेसलाई थप एकताबद्ध र गतिशील बनाउँदै राष्ट्रिय चुनौती सामना गर्न सक्ने बलियो पार्टी निर्माणमा सहयोग पुग्ने थापाको विश्वास छ ।

सभापति थापाले पार्टीका सबै तहका कार्यसमिति, पदाधिकारी, सदस्य, समर्थक तथा शुभेच्छुकलाई सौहार्दपूर्ण वातावरणमा सहभागिता सुनिश्चित गर्दै १५औँ महाधिवेशन सफल बनाउन अपिल गरेका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै