एसीसी प्रिमियर कप फाइनलमा आचारसंहिता उल्लंघन, रोहितसहित तीन खेलाडीलाई आईसीसीको जरिवाना – Nepalboli

एसीसी प्रिमियर कप फाइनलमा आचारसंहिता उल्लंघन, रोहितसहित तीन खेलाडीलाई आईसीसीको जरिवाना

   २०८३ भाद्र ३१, बुधबार  

काठमाडौं— एसीसी पुरुष प्रिमियर कपको फाइनलमा मैदानमा भएको विवाद र खेल सामग्रीमा असन्तुष्टि जनाउने व्यवहारका कारण नेपालका रोहित पौडेलसहित यूएईका दुई खेलाडीमाथि अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले कारबाही गरेको छ ।

आईसीसीका अनुसार नेपालका रोहित पौडेल र यूएईका अदीब उसमानीलाई लेभल–१ को आचारसंहिता उल्लंघनमा दोषी ठहर गर्दै उनीहरूको खेल शुल्कको १५ प्रतिशत जरिवाना गरिएको छ । यूएईकै खुजाइमा तनवीरलाई भने १० प्रतिशत जरिवाना गरिएको छ ।

फाइनलका क्रममा ३१औँ ओभरमा रोहित र अदीबबीच मैदानमै विवाद भएको थियो । अम्पायरले स्थिति नियन्त्रणमा लिन आग्रह गरे पनि दुवैले त्यसलाई तत्काल पालना नगरेपछि उनीहरूलाई आईसीसीको आचारसंहिता उल्लंघनमा कारबाही गरिएको हो ।

त्यस्तै, यूएईका तनवीरले ४६औँ ओभरमा आउट भएपछि स्टम्पमा ब्याट प्रहार गरेका थिए । खेल सामग्रीप्रति अनुचित व्यवहार गरेको भन्दै उनलाई पनि लेभल–१ अन्तर्गत कारबाही गरिएको हो ।

कारबाहीसँगै तीनै खेलाडीको अनुशासनात्मक अभिलेखमा एक–एक डिमेरिट अंक थपिएको छ ।

नेपालले उक्त फाइनलमा यूएईलाई ४४ रनले पराजित गर्दै एसीसी पुरुष प्रिमियर कपको उपाधि जितेको थियो।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै