प्रधानमन्त्रीले तोकेको समयसीमाअघि नै कृष्णभीरमा ट्र्याक खुल्यो, असोज १ देखि दुईतर्फी यातायात सञ्चालन
काठमाडौं— पृथ्वीराजमार्गअन्तर्गत नागढुंगा–मुग्लिन सडकखण्डको कृष्णभीरमा बाढीका कारण अवरुद्ध सडक पुनः सञ्चालनका लागि नयाँ ट्र्याक खोल्ने काम तोकिएको समयसीमाभित्रै सम्पन्न भएको छ ।
प्रधानमन्त्री वालेन्द्र शाहले गत भदौ १७ गते प्रतिनिधिसभामा सम्बोधन गर्दै भदौ महिनाभित्रै कृष्णभीरमा सडक सञ्चालनमा ल्याउने घोषणा गरेका थिए । सोही घोषणाअनुसार पूर्वाधार विकास मन्त्रालयको नेतृत्वमा नयाँ ट्र्याक निर्माणको काम तीव्र गतिमा अघि बढाइएको हो ।
मन्त्रालयका अनुसार भदौ २८ गतेदेखि कृष्णभीरको नयाँ ट्र्याकमा परीक्षणका रूपमा यातायात सञ्चालन भइरहेको छ। असोज १ गते बिहीबार बिहानदेखि भने उक्त सडकखण्डमा दुईतर्फी यातायात सञ्चालन गरिनेछ ।
गत भदौ १० गते आएको बाढीले कृष्णभीरको सडक सुरक्षाका लागि बनाइएको पर्खालमा क्षति पुर्याएको थियो । त्यसपछि भदौ १४ गते आएको अर्को बाढीले पर्खाल पूर्ण रूपमा भत्काएपछि सडकमा यातायात आवागमन ठप्प भएको थियो ।
सडक अवरुद्ध भएपछि पूर्वाधार विकास मन्त्रालयले सडक विभाग र नेपाल जियोटेक्निकल सोसाइटीका प्राविधिकको टोली परिचालन गरी चार दिनसम्म द्रुत अध्ययन गराएको थियो । अध्ययनपछि पहाड काटेर करिब २५० मिटर लामो नयाँ ट्र्याक खोल्ने विकल्पलाई प्राथमिकतामा राखिएको थियो ।
विज्ञहरूको सुझावअनुसार भदौ १९ गतेदेखि रुख कटान सुरु गरी पहाड खन्ने काम अघि बढाइएको थियो । करिब ३५ मिटर उचाइ र २० मिटर भित्रसम्म पहाड काटेर नयाँ ट्र्याक निर्माण गरिएको मन्त्रालयले जनाएको छ ।
ट्र्याक निर्माणका क्रममा प्राविधिकसहित करिब ५० जना जनशक्ति दैनिक १२ देखि १६ घण्टासम्म निरन्तर खटिएका थिए । काम सुरु भएको १०औँ दिनमै, अर्थात् भदौ २८ गतेदेखि ग्यास बुलेटसहित केही अत्यावश्यक सवारी साधनलाई परीक्षणका रूपमा आवतजावत गर्न दिइएको थियो ।
हाल नयाँ ट्र्याकमा ग्राभेल बिछ्याउने, नाली निर्माण गर्ने तथा सडकलाई थप मजबुत बनाउने काम भइरहेको छ । ग्राभेलको काम भोलिसम्म सम्पन्न गर्ने र असोज १ गतेदेखि नियमित दुईतर्फी यातायात सञ्चालन गर्ने तयारी रहेको मन्त्रालयले जनाएको छ ।
यससँगै बाढीका कारण लामो समयदेखि प्रभावित नागढुंगा–मुग्लिन सडकखण्डमा यातायात सहज हुने अपेक्षा गरिएको छ ।