नेपालले भारतमा दैनिक ६५४ मेगावाटसम्म विद्युत् निर्यात गर्न पाउने
काठमाडौं- भारतको विद्युत् मन्त्रालयले नेपाललाई भारतमा विद्युत् निर्यात गर्न थप अनुमति दिएको छ। भारतको विद्युत् मन्त्रालयले नेपाल विद्युत् प्राधिकरणलाई सेप्टेम्बर १३ देखि डिसेम्बर ३१, २०२६ सम्म दैनिक १८ घण्टा विद्युत् निर्यात गर्न अनुमति दिएको हो।
नयाँ स्वीकृतिअनुसार नेपालले मुजफ्फरपुर–ढल्केबर ४०० केभी प्रसारण लाइनमार्फत ६०० मेगावाटसम्म र टनकपुर–महेंद्रनगर १३२ केभी लाइनमार्फत ५४ मेगावाटसम्म विद्युत् निर्यात गर्न सक्नेछ। यसअनुसार दुवै प्रसारण लाइनबाट गरी अधिकतम ६५४ मेगावाटसम्म विद्युत् भारत निर्यात गर्न सकिनेछ।
भारतको विद्युत् मन्त्रालयका अनुसार जनवरी २०२७ देखि निर्यात गरिने विद्युत्को मात्रा पुनरावलोकन गरिनेछ। त्यसका लागि डिसेम्बर २०२६ मा समीक्षा गरिने बताइएको छ।
हालै आएको बाढीका कारण नेपालको जलविद्युत् पूर्वाधारमा ठूलो क्षति पुगेको र त्यसबाट आन्तरिक विद्युत् उत्पादन क्षमता प्रभावित भएको भारतले जनाएको छ। यस्तो अवस्थामा नेपालमा अतिरिक्त विद्युत् आवश्यकता उत्पन्न भएकाले निर्यातसम्बन्धी स्वीकृतिले नेपालको विद्युत् आवश्यकता व्यवस्थापनमा समेत सहयोग पुग्ने अपेक्षा गरिएको छ।
भारतको विद्युत् मन्त्रालयले यो निर्णयले भारत र नेपालबीचको ऊर्जा सहकार्यलाई थप मजबुत बनाउने जनाएको छ। साथै, भारतले ऊर्जा क्षेत्रमा नेपाललाई निरन्तर सहयोग र द्विपक्षीय सहकार्यलाई अझ सुदृढ गर्दै लैजाने प्रतिबद्धता जनाएको छ।