अस्पतालको गेटमै सुत्केरी भएकी बबितालाई भेट्न पुगे शिक्षामन्त्री, अस्पतालको सेवा सुधार्ने प्रतिबद्धता
राजविराज—अस्पतालको गेटमै प्रसूति गर्न बाध्य भएकी सप्तरीकी बबिताकुमारी पासवानलाई भेट्न शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेल गजेन्द्रनारायण सिंह अस्पताल पुगेका छन् ।
मन्त्री पोखरेलले अस्पतालमा उपचाररत पासवानसँग भेट गरी उनको स्वास्थ्य अवस्था र नवजात शिशुको अवस्थाबारे जानकारी लिएका हुन् । अस्पताल प्रशासनका अनुसार आमा र शिशु दुवैको स्वास्थ्य अवस्था सामान्य छ । पासवानलाई अस्पतालको बेड नम्बर २२ मा राखेर उपचार तथा स्याहार भइरहेको छ ।
केही दिनअघि उपचारका लागि अस्पताल पुगेकी पासवानले अस्पतालको गेटमै बच्चा जन्माउनुपरेको घटना सार्वजनिक भएपछि त्यसबारे जानकारी लिन मन्त्री पोखरेल स्थलगत निरीक्षणमा पुगेका हुन् ।
अवलोकनका क्रममा मन्त्री पोखरेलले अस्पतालको सेवा प्रवाह, पूर्वाधार, चिकित्सक तथा स्वास्थ्यकर्मीको उपलब्धता लगायतका विषयमा अस्पताल प्रशासनसँग जानकारी लिएका थिए ।
उनले अस्पतालको सेवा थप प्रभावकारी बनाउन आवश्यक चिकित्सक, स्वास्थ्यकर्मी तथा अन्य स्वास्थ्य सेवाको व्यवस्थापनका लागि पहल गर्ने प्रतिबद्धता जनाए ।
अस्पतालको गेटमै प्रसूति भएको घटनाले सार्वजनिक स्वास्थ्य संस्थामा आकस्मिक उपचार तथा प्रसूति सेवाको पहुँच र व्यवस्थापनमाथि प्रश्न उठाएपछि मन्त्रीको स्थलगत निरीक्षणलाई चासोका साथ हेरिएको छ।