रास्वपा सांसदको तलबबाट १५ हजार कटौती, प्रधानमन्त्री राहत कोषमा २७ लाखभन्दा बढी जम्मा हुने
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरूले व्यक्तिगत रूपमा १५ हजार रुपैयाँका दरले प्रधानमन्त्री राहत कोषमा योगदान गर्ने भएका छन् । बाढी तथा विपद् प्रभावितका लागि पार्टीले अघि सारेको राहत अभियानअन्तर्गत सांसदहरूबाट रकम संकलन गर्न लागिएको हो ।
रास्वपा संसदीय दलका मुख्य सचेतक कवीन्द्र बुर्लाकोटीका अनुसार पार्टीका सांसदहरूले जनही १५ हजार रुपैयाँका दरले योगदान गर्नेछन् । यसबाट कुल २७ लाख १५ हजार रुपैयाँ राहत कोषमा जम्मा हुनेछ ।
यसअघि रास्वपाले बाढीपीडितका लागि ५० लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरिसकेको थियो । सांसदहरूको व्यक्तिगत योगदानसमेत जोडिँदा विपद् प्रभावितका लागि पार्टीको तर्फबाट राहत रकम थपिने भएको हो ।
बाढीबाट ठूलो जनधनको क्षति भइरहेका बेला राहत तथा उद्धारका लागि सरकारको कोषमा सहयोग जुटाउने अभियानअन्तर्गत सांसदहरूले आफ्नो तर्फबाट रकम दिने निर्णय गरेको रास्वपाले जनाएको छ ।