बालेनदेखि रविसम्मः नेपालमा नयाँ नेतृत्व निर्माणमा अमेरिकी भूमिकाबारे ‘द ग्रेजोन’को सनसनीपूर्ण दाबी – Nepalboli

बालेनदेखि रविसम्मः नेपालमा नयाँ नेतृत्व निर्माणमा अमेरिकी भूमिकाबारे ‘द ग्रेजोन’को सनसनीपूर्ण दाबी

   २०८३ भाद्र २८, आईतवार  

काठमाडौं— नेपालमा पछिल्लो समय उदाएका नयाँ राजनीतिक शक्तिको उदय र ‘जेनजी’ आन्दोलनको पृष्ठभूमिमा बाह्य शक्तिको भूमिका रहेको दाबीले नेपाली राजनीतिमा नयाँ बहस जन्माएको छ । अमेरिकी सहयोगमा सञ्चालित कार्यक्रमका कथित आन्तरिक दस्तावेजलाई आधार बनाउँदै खोज पत्रकारिता पोर्टल ‘द ग्रेजोन’ले नेपालमा नयाँ राजनीतिक नेतृत्व निर्माणका लागि वर्षौँदेखि रणनीतिक काम भएको दाबी गरेको छ ।

पत्रकार किट क्लारेनबर्ग र वायट रिडले तयार पारेको अनुसन्धान प्रतिवेदनमा अमेरिकी सरकारसँग जोडिएका विभिन्न संस्था र कार्यक्रममार्फत नेपाली युवालाई राजनीतिक रूपमा परिचालन गर्ने, नयाँ पुस्ताका सम्भावित नेताहरू पहिचान गर्ने तथा परम्परागत राजनीतिक शक्तिलाई चुनौती दिने रणनीति अपनाइएको दाबी गरिएको छ ।

प्रतिवेदनको सबैभन्दा चर्चित दाबी भनेको बालेन्द्र (बालेन) शाह, रवि लामिछाने, सुदन गुरुङ र सागर ढकालजस्ता व्यक्तिहरूलाई नयाँ राजनीतिक नेतृत्वका सम्भावित पात्रका रूपमा पहिचान गरिएको भन्ने हो ।

करिब २ करोड डलरको परियोजनामाथि प्रश्न

द ग्रेजोनले सन् २०१९ को एउटा दस्तावेज उद्धृत गर्दै अमेरिकी सहयोगमा International Republican Institute (IRI) मार्फत नेपालमा ‘Policy Dialogue’ नामको परियोजना सञ्चालन भएको उल्लेख गरेको छ ।

प्रतिवेदनअनुसार सन् २०१७ देखि २०२२ सम्म सञ्चालन भएको उक्त परियोजनाका लागि करिब २ करोड अमेरिकी डलरबराबरको बजेट रहेको थियो ।

यस कार्यक्रमको उद्देश्य नेपालका परम्परागत राजनीतिक संरचनालाई चुनौती दिने र नयाँ पुस्तालाई नागरिक तथा राजनीतिक गतिविधिमा सक्रिय बनाउने रहेको द ग्रेजोनको दाबी छ ।

प्रतिवेदनले यही कार्यक्रममार्फत सम्भावित ‘change agents’ तथा catalytic civic leaders’ पहिचान गरिएको दाबी गरेको छ ।

बालेनको नाम पहिल्यैदेखि सूचीमा थियो ?

द ग्रेजोनको दाबीअनुसार बालेन शाहको नाम सन् २०१९ कै दस्तावेजमा सम्भावित प्रभावशाली नयाँ पुस्ताका व्यक्तिका रूपमा उल्लेख थियो ।

त्यसपछि काठमाडौं महानगरको मेयरमा बालेनको अप्रत्याशित उदय, सामाजिक सञ्जालमा उनको लोकप्रियता र पुराना राजनीतिक दलप्रतिको असन्तुष्टिसँग जोडेर प्रतिवेदनले उनलाई अमेरिकी रणनीतिसँग सम्बन्धित पात्रका रूपमा चित्रण गरेको छ ।

 

रवि लामिछानेको राजनीतिक प्रवेशलाई पनि जोडियो

प्रतिवेदनले रवि लामिछानेको टेलिभिजन पत्रकारिताबाट राजनीतिमा प्रवेश र राष्ट्रिय स्वतन्त्र पार्टीको गठनलाई पनि उक्त परियोजनाको समयक्रमसँग जोडेको छ ।

द ग्रेजोनका अनुसार ‘Policy Dialogue’ कार्यक्रमको पहिलो चरणको फन्डिङ समाप्त हुने समय आसपास लामिछानेले टेलिभिजन छाडेर नयाँ राजनीतिक दल निर्माण गरेका थिए ।

त्यसलाई प्रतिवेदनले संयोग मात्र नभएको संकेत गरे पनि रास्वपा गठन अमेरिकी परियोजनाकै परिणाम हो भन्ने प्रत्यक्ष प्रमाण भने सार्वजनिक गरिएको दाबीबाट स्पष्ट हुँदैन ।

युवाको मनोविज्ञान अध्ययनदेखि सामाजिक सञ्जालसम्म

प्रतिवेदनले नेपालमा राजनीतिक प्रभाव विस्तारका लागि युवाको मनोविज्ञान, सामाजिक असन्तुष्टि र स्थापित नेताहरूप्रतिको नकारात्मक धारणा अध्ययन गरिएको दाबी गरेको छ ।

यसलाई ‘psychographic profiling’ को अवधारणासँग जोड्दै द ग्रेजोनले सामाजिक सञ्जालमार्फत पुराना राजनीतिक नेतृत्वको छवि कमजोर बनाउने र नयाँ अनुहारलाई लोकप्रिय बनाउने किसिमका रणनीति प्रयोग भएको दाबी गरेको छ ।

सामाजिक सञ्जालमा राजनीतिक सामग्रीको प्रभाव, अनलाइन पोल र पश्चिमी सञ्चारमाध्यममा नयाँ पुस्ताका नेताको चित्रणलाई पनि प्रतिवेदनले यही व्यापक रणनीतिको हिस्सा भएको रूपमा व्याख्या गरेको छ ।

जेनजी आन्दोलनसँग जोडिएको अर्को गम्भीर आरोप

द ग्रेजोनले पछिल्लो जेनजी आन्दोलनमा ‘हामी नेपाल’ नामक संस्थाको भूमिकामाथि समेत प्रश्न उठाएको छ ।

प्रतिवेदनअनुसार संस्थासँग सम्बन्धित डिस्कोर्ड सर्भरमा प्रदर्शन, आन्दोलन तथा हिंसात्मक गतिविधिसम्बन्धी रणनीतिबारे छलफल भएको थियो ।

सरकारी संरचनामा आगजनी, पेट्रोल बमलगायत हिंसात्मक गतिविधिका योजना पहिले नै बनाइएको दाबी पनि प्रतिवेदनमा गरिएको छ ।

 

अमेरिकी ‘इन्डो–प्यासिफिक’ रणनीतिसँग सम्बन्ध ?

द ग्रेजोनले नेपालमा नयाँ राजनीतिक शक्तिको उदयलाई अमेरिकी Indo-Pacific Strategy सँग समेत जोडेको छ ।

प्रतिवेदनको दाबीअनुसार नेपालमा राजनीतिक तथा सामाजिक प्रभाव विस्तार गर्नुको एउटा उद्देश्य चीनको Belt and Road Initiative (BRI) तथा चिनियाँ लगानीसँग सम्बन्धित परियोजनामा अमेरिकी रणनीतिक प्रभाव कायम गर्नु रहेको थियो ।

यसै आधारमा नयाँ राजनीतिक नेतृत्वको निर्माणदेखि युवाको परिचालनसम्मका गतिविधिलाई अमेरिकी भूराजनीतिक स्वार्थसँग जोडेर व्याख्या गरिएको छ ।

As criticism grows over landslide inaction, leaks show Nepal’s new leaders groomed by US regime change outfit

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै