सिरहाको कार्यक्रममा होहल्ला, शिक्षामन्त्री पोखरेल बाहिरिएपछि दिए यस्तो स्पष्टीकरण – Nepalboli

सिरहाको कार्यक्रममा होहल्ला, शिक्षामन्त्री पोखरेल बाहिरिएपछि दिए यस्तो स्पष्टीकरण

   २०८३ भाद्र २७, शनिबार  

सिरहा— शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेल सहभागी सिरहाको एक कार्यक्रममा होहल्ला भएपछि उनी कार्यक्रमस्थलबाट बाहिरिएका छन् । घटनापछि सामाजिक सञ्जालमा मन्त्रीलाई स्थानीय रास्वपाका नेता–कार्यकर्ताले कार्यक्रमबाट ‘लखेटेको’ दाबी सार्वजनिक भएपछि पोखरेलले त्यसको खण्डन गर्दै दुई जना व्यक्तिले हल्ला गरेपछि कार्यक्रम प्रभावित हुने अवस्था आएर आफूहरू बाहिरिएको बताएका छन् ।

औरही गाउँपालिकाको शिक्षा शाखाले आयोजना गरेको कार्यक्रममा शनिबार मन्त्री पोखरेल विद्यालय शिक्षा सुधारसम्बन्धी विषयमा छलफलका लागि पुगेका थिए । उनी बोलिरहेका बेला केही व्यक्तिले होहल्ला गरेपछि कार्यक्रम प्रभावित भएको थियो ।

घटनापछि फेसबुकमार्फत स्पष्टीकरण दिँदै मन्त्री पोखरेलले कार्यक्रमबाट आफूहरू बाहिरिनुको कारण सहभागीको संख्या वा विरोध नभई होहल्लाका कारण बाँकी विद्यार्थी, शिक्षक तथा अभिभावकको सहभागिता प्रभावित हुने अवस्था बनेको बताएका छन् ।

‘दुई जना व्यक्तिले आएर हल्ला गरेपछि बाँकी विद्यार्थी, शिक्षक र अभिभावकको सहभागिता प्रभावित हुने अवस्था बन्यो र हामी कार्यक्रमस्थलबाट बाहिरिएका हौं,’ उनले लेखेका छन् ।

मन्त्री पोखरेलका अनुसार उनी मधेश प्रदेशका विभिन्न जिल्लामा पुगेर राष्ट्रिय पाठ्यक्रम प्रारूप, २०७६ परिमार्जनका लागि विद्यार्थी, शिक्षक र अभिभावकका सुझाव संकलन गरिरहेका छन् ।

उनले आगामी शैक्षिक सत्रदेखि कार्यान्वयनमा ल्याउने तयारी गरिएको ‘बुक फ्रि फ्राइडे’ र ‘स्किल इन एजुकेसन’ लगायतका अवधारणाबारे समेत प्रत्यक्ष संवाद भइरहेको बताएका छन् ।

‘एक मिनेटभन्दा छोटो भिडियोले भ्रम फैलाइयो’

पोखरेलले घटनाको एक मिनेटभन्दा पनि छोटो भिडियो क्लिप काटेर सामाजिक सञ्जालमा राख्दै सम्पूर्ण घटनाको सन्दर्भ नै बङ्ग्याउने प्रयास भएको दाबी गरेका छन् ।

लोकतान्त्रिक व्यवस्थामा असहमति जनाउने अधिकार सबैलाई रहेको उल्लेख गर्दै उनले पूरा सन्दर्भ नबुझी छोटो भिडियोका आधारमा धारणा बनाउन नहुने बताएका छन् ।

‘कुनै भ्रम वा भ्रामक प्रचारले शिक्षा सुधारको हाम्रो मूल उद्देश्यलाई रोक्न सक्दैन,’ उनले भनेका छन् ।

विवादपछि पनि सुझाव संकलन जारी

कार्यक्रममा भएको विवादले आफ्नो अभियान प्रभावित नभएको दाबी गर्दै मन्त्री पोखरेलले त्यसपछि पनि सिरहाका विभिन्न शैक्षिक संस्थामा पुगेर विद्यार्थी तथा सरोकारवालासँग संवाद गरेको बताएका छन् ।

उनका अनुसार सिरहास्थित बहिरा बालबालिका अध्ययन गर्ने विद्यालय तथा मदरसा शिक्षालयमा समेत पुगेर सुझाव संकलन गरिएको छ। शनिबार मात्रै करिब ८ देखि १० वटा विद्यालयमा पुगेर सुझाव संकलन गरिएको उनले जानकारी दिएका छन् ।

पोखरेलले मधेश प्रदेशका अन्य जिल्लामा समेत संवाद जारी राख्ने बताएका छन् । उनका अनुसार आइतबार सप्तरी हुँदै टोली मोरङतर्फ जाने कार्यक्रम छ ।

यसैबीच, सिरहाको कार्यक्रमको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि घटनालाई लिएर विभिन्न टिप्पणी भइरहेका छन् । यद्यपि, कार्यक्रममा भएको विवादको विस्तृत कारण र होहल्ला गर्ने व्यक्तिको पहिचानबारे भने मन्त्रीको स्पष्टीकरणबाहेक थप आधिकारिक विवरण सार्वजनिक भएको छैन ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै