‘यूएईमाथि ४४ रनको बदला, नेपाल फेरि एसिया कपमा’ – Nepalboli

‘यूएईमाथि ४४ रनको बदला, नेपाल फेरि एसिया कपमा’

   २०८३ भाद्र २७, शनिबार  

काठमाडौं— नेपाली क्रिकेटले फेरि एकपटक एसियाली मञ्चमा आफ्नो उपस्थिति पक्का गरेको छ। ओपनर आशिफ शेखको शतकीय पारी र बलरहरूको उत्कृष्ट प्रदर्शनसँगै नेपालले एसीसी मेन्स प्रिमियर कपको फाइनलमा यूएईलाई ४४ रनले पराजित गर्दै उपाधि जितेको छ ।

मलेसियाको वयुमास ओभलमा नेपालले दिएको ३१४ रनको लक्ष्य पछ्याएको यूएई ४९.१ ओभरमा २६९ रनमै अलआउट भयो । योसँगै नेपालले प्रतियोगिताको उपाधि मात्र जितेन, दोस्रोपटक एकदिवसीय एसिया कपमा छनोट हुने उपलब्धि पनि हासिल गर्‍यो । यूएईका लागि राहुल चोपडाले शतकीय पारी खेले पनि उनको प्रयास टोलीलाई जिताउन पर्याप्त भएन । उनले अविजित १०० रन बनाए । सोहेब खानले ५२ रन बनाए ।

नेपालका लागि करण केसीले ३ विकेट लिए । ललित नारायण राजवंशीले २ तथा सन्दीप लामिछाने, दीपेन्द्रसिंह ऐरी, रोहित पौडेल, गुल्सन झा र बसिर अहमदले समान १ विकेट लिए ।

यूएईले सुरुवातमै दबाब सामना गरेको थियो । ५६ रनमै तीन प्रमुख ब्याटर गुमाएको यूएईलाई कप्तान हर्पित भाटिया र राहुल चोपडाले केही समय सम्हाल्ने प्रयास गरे । तर लगातार विकेट गुमेपछि यूएई दबाबबाट बाहिर निस्कन सकेन ।

राहुल र सोहेबबीचको ९७ रनको साझेदारीले यूएईको आशा जगाए पनि सोहेब आउट भएपछि नेपाली बलरले खेल आफ्नो नियन्त्रणमा लिए । २६० रनमा नवौं विकेट गुमाएको यूएई अन्ततः २६९ रनमै रोकियो ।

आशिफको ब्याटबाट जितको आधार

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर ३१३ रन बनाएको थियो ।

नेपालको ठूलो स्कोरको आधार ओपनर आशिफ शेख बने । उनले १०३ बलमा ८ चौका र ४ छक्काको मद्दतले १०२ रन बनाए ।

आशिफले अर्जुन कुमालसँग पहिलो विकेटका लागि ९७ रनको साझेदारी गर्दै नेपाललाई बलियो सुरुवात दिलाएका थिए । अर्जुन ४३ रनमा रनआउट भए ।

त्यसपछि इशान पाण्डे १३ रनमा आउट भए पनि आशिफले आफ्नो लय कायम राखे । उनले रोहित पौडेलसँग महत्वपूर्ण साझेदारी गर्दै नेपालको स्कोरलाई बलियो अवस्थामा पुर्‍याए ।

आशिफको यो एकदिवसीय क्रिकेटमा दोस्रो शतक हो । यसअघि उनले २०२३ को विश्वकप लिग–२ मा पपुवा न्युगिनीविरुद्ध शतक प्रहार गरेका थिए ।

गुल्सनको अर्धशतकसँगै अर्को उपलब्धि

नेपालको जितमा गुल्सन झाको आक्रामक ब्याटिङ पनि महत्वपूर्ण रह्यो। उनले केवल ३८ बलमा ५२ रन बनाए ।

यही क्रममा गुल्सनले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा १ हजार रन पनि पूरा गरेका छन् । यूएईविरुद्ध ३७ रन पूरा गरेसँगै उनी नेपालको १ हजार रन बनाउने सातौं खेलाडी बने ।

गुल्सनले ५३ खेलको ४५ इनिङ्समा यो उपलब्धि हासिल गरेका हुन् ।

नेपालका लागि रोहित पौडेलले ४०, दीपेन्द्रसिंह ऐरीले १८ तथा बसिर अहमदले अविजित १५ रन बनाए ।

यूएईविरुद्ध नेपालको सर्वाधिक स्कोर

३१३ रनको योगफल यूएईविरुद्ध नेपालले बनाएको अहिलेसम्मकै ठूलो स्कोर हो । यसअघि नेपालले यूएईविरुद्ध त्रिवि क्रिकेट मैदानमा २८९ रन बनाएको थियो ।

नेपालले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा ३ सयभन्दा बढी रन बनाएको यो चौथोपटक हो । ३१३ रन नेपालको एकदिवसीय अन्तर्राष्ट्रिय इतिहासकै तेस्रो ठूलो स्कोरसमेत बनेको छ ।

नेपालले यसअघि २०२३ मा पनि यूएईलाई ७ विकेटले पराजित गर्दै प्रिमियर कपको उपाधि जितेर एसिया कपमा स्थान बनाएको थियो। यसपटक पनि यूएईलाई नै फाइनलमा हराउँदै नेपालले एसिया कपको टिकट काटेको हो ।

 

 

 

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै