ब्रिक्सको मञ्चमा मोदी–सी भेटवार्ता, भारत–चीन सम्बन्ध सुधारको संकेत, पुटिनलाई ‘तिरुक्कुरल’ उपहार
नयाँदिल्ली—ब्रिक्स शिखर सम्मेलनको मञ्चमा आज भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र चिनियाँ राष्ट्रपति सी चिनफिङबीच महत्वपूर्ण द्विपक्षीय भेटवार्ता हुँदैछ । करिब सात वर्षपछि चिनियाँ राष्ट्रपतिको नयाँदिल्ली भ्रमण हुन लागेकाले दुई नेताबीचको भेटलाई भारत–चीन सम्बन्धमा नयाँ संवादको सम्भावनासँग जोडेर हेरिएको छ ।
१८औँ ब्रिक्स शिखर सम्मेलनमा सहभागी हुन सी शनिबार दिउँसो नयाँदिल्ली पुग्ने कार्यक्रम छ । सम्मेलनमा सहभागितासँगै मोदीसँग हुने भेटवार्तामा दुई देशबीचको सम्बन्ध, व्यापार, सहयोग तथा क्षेत्रीय र अन्तर्राष्ट्रिय विषयमा छलफल हुने अपेक्षा गरिएको छ ।
भारत र चीनबीच पछिल्ला वर्षमा देखिएका तनावका बीच हुन लागेको यो भेटलाई विशेष महत्वका साथ हेरिएको छ । ब्रिक्सको बहुपक्षीय मञ्चमा दुवै नेता एउटै टेबलमा बस्दै गर्दा द्विपक्षीय सम्बन्ध सुधारको सम्भावना पनि चर्चामा आएको छ ।
ब्रिक्समा ‘ग्लोबल साउथ’को आवाज
शनिबार दिउँसो ब्रिक्स सदस्य राष्ट्रका नेताहरूको बन्द सत्र सुरु हुनेछ। सत्रमा समावेशी विश्व शासन तथा बहुपक्षीय व्यवस्थालाई थप प्रभावकारी बनाउने विषयमा छलफल हुनेछ ।
यसपटकको सम्मेलनमा ब्रिक्स सदस्य राष्ट्रसँगै अफ्रिका, क्यारेबियन तथा अन्य क्षेत्रका प्रतिनिधिको समेत सहभागिता छ । विश्व व्यापार संगठन (डब्लूटीओ) की महानिर्देशक न्गोजी ओकोन्जो–इवेला पनि सम्मेलनमा सहभागी हुँदैछिन् ।
भारतले सम्मेलनमार्फत ग्लोबल साउथका प्राथमिकता, समावेशी व्यापार, विकास र बहुपक्षीय विश्व व्यवस्थाका मुद्दालाई अघि बढाउने बताएको छ ।
क्युबाका विदेशमन्त्री ब्रुनो रोड्रिगेज परिल्ला, बुरुन्डीका राष्ट्रपति एभेरिस्ते न्दायिशिमिये, इन्डोनेसियाका राष्ट्रपति प्रबोवो सुबियांतो तथा थाइल्यान्डका उपप्रधानमन्त्री एवं विदेशमन्त्री सिहासक फुङकेटकेओलगायत नेताहरू पनि सम्मेलनमा सहभागी हुँदैछन् ।
आइतबार सम्मेलनको मुख्य खुला सत्र हुनेछ। ‘खुलापन, नवप्रवर्तन, सहकार्य र स्थायित्वमार्फत समावेशी विश्व विकासका लागि भविष्य निर्माण’ विषयमा केन्द्रित उक्त सत्रपछि नयाँदिल्ली घोषणापत्र जारी गरिनेछ ।
पुटिनलाई ‘तिरुक्कुरल’ उपहार
ब्रिक्स सम्मेलनकै क्रममा भारतीय प्रधानमन्त्री मोदीले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई तमिल दार्शनिक तिरुवल्लुवरको प्रसिद्ध कृति ‘तिरुक्कुरल’को रुसी भाषामा अनुवादित प्रति उपहार दिएका छन् ।
१३३ अध्याय र १ हजार ३३० दोहा रहेको ‘तिरुक्कुरल’मा नैतिकता, शासन, सामाजिक सम्बन्ध र प्रेमलगायत विषय समेटिएका छन् ।
भारतका उपराष्ट्रपति सीपी राधाकृष्णनले पुटिनलाई यस्तो कृति उपहार दिनु भारतको सभ्यतागत तथा सांस्कृतिक विरासत प्रस्तुत गर्ने माध्यम भएको बताएका छन् ।
पाहुनालाई भारतीय उत्पादनको ‘गुडी ब्याग’
सम्मेलनमा सहभागी विदेशी पाहुना तथा प्रतिनिधिलाई भारतका विभिन्न राज्यका उत्पादन समेटिएको विशेष ‘गुडी ब्याग’ उपलब्ध गराइएको छ ।
ब्यागमा बिहारको सत्तु र मखाना, केराको चिप्स, ओडिशाको कफी तथा गुजरातको स्टोल राखिएको छ । पाहुनाका लागि प्रयोग गरिएको टेबलवेयरमा राजस्थानको जयपुरको परम्परागत हस्तकलालाई समेत समेटिएको छ ।
सम्मेलनका लागि करिब ३०० कारीगरले सिल्भर–प्लेटेड टेबलवेयर तथा कटलरी तयार गरेको बताइएको छ ।
यसपटकको ब्रिक्स सम्मेलन विश्व व्यापार, समावेशी विकास र बहुपक्षीयताका मुद्दासँगै भारत–चीन सम्बन्धको सम्भावित नयाँ अध्याय र भारत–रुस सहकार्यका दृष्टिले पनि महत्वपूर्ण बनेको छ ।