एसिया कपको टिकट जित्न नेपाललाई यूएईको चुनौती
काठमाडौं— एसिसी मेन्स प्रिमियर कपको फाइनलमा आज नेपाल र संयुक्त अरब इमिरेट्स (यूएई) आमनेसामने हुँदैछन् । मलेसियामा हुने खेल नेपाली समयअनुसार बिहान ७ः१५ बजे सुरु हुनेछ ।
नेपालका लागि यो खेल केवल प्रिमियर कपको उपाधि जित्ने अवसर मात्र होइन, २०२७ को एकदिवसीय एसिया कपमा दोस्रोपटक स्थान बनाउने निर्णायक परीक्षा समेत हो । फाइनल जित्ने टोलीले प्रतियोगिताको उपाधिसँगै एसिया कपको टिकट सुरक्षित गर्नेछ ।
नेपालले यसअघि सन् २०२३ मा यूएईलाई नै पराजित गर्दै प्रिमियर कपको उपाधि जितेको थियो । त्यसबेला नेपाल ७ विकेटले विजयी भएको थियो । यसपटक पनि त्यही प्रतिद्वन्द्वीविरुद्ध उपाधि रक्षा गर्ने लक्ष्यमा नेपाली टोली मैदान उत्रिँदैछ ।
तर यसपटक यूएईविरुद्धको चुनौती सहज छैन । प्रतियोगितामा यूएई अहिलेसम्म अपराजित छ र सेमिफाइनलमा हङकङलाई ७ विकेटले पराजित गर्दै फाइनलमा पुगेको हो । नेपाल भने समूह चरणमा हङकङसँग पराजित भए पनि बहराइन, मलेसिया र साउदी अरेबियालाई हराउँदै समूह ‘ए’ को शीर्ष टोलीका रूपमा अन्तिम चारमा पुगेको थियो ।
बलिङले बचाएको नेपाललाई ब्याटिङ सुधार्ने दबाब
नेपालको फाइनल यात्रा मुख्यतः बलिङको बलमा तय भएको देखिन्छ । सेमिफाइनलमा ओमानले दिएको १४७ रनको लक्ष्य रक्षा गर्दै नेपालले ८७ रनको शानदार जित निकाल्यो । ओमानलाई केवल ६० रनमा समेट्नु नेपाली बलिङको प्रभावको स्पष्ट उदाहरण हो ।
कप्तान सन्दीप लामिछाने प्रतियोगितामा सर्वाधिक विकेट लिने खेलाडी बनेका छन् । उनले पाँच खेलमा १६ विकेट लिइसकेका छन् । ललित राजवंशीले ९, दीपेन्द्रसिंह ऐरीले ७ तथा करण केसीले ६ विकेट लिएका छन् ।
तर यही बलियो पक्षको ठीक विपरीत नेपालको ब्याटिङ फाइनलअघि सबैभन्दा ठूलो चिन्ताको विषय बनेको छ ।
प्रतियोगितामा सर्वाधिक रन बनाउने शीर्ष १० खेलाडीमा नेपालका कुनै पनि ब्याटर छैनन् । इशान पाण्डेले पाँच खेलबाट १५२ रन बनाउँदै नेपालको तर्फबाट सर्वाधिक रन जोडेका छन् । उनी प्रतियोगिताको सर्वाधिक रनकर्ताको सूचीमा १२औँ स्थानमा छन् ।
ओपनिङमा पनि नेपालले अपेक्षित सुरुवात पाउन सकेको छैन । पछिल्लो खेलमा देव खनाललाई ओपनिङको जिम्मेवारी दिइए पनि रणनीतिले अपेक्षित परिणाम दिन सकेन । मिडल अर्डरबाट समेत लगातार ठूलो स्कोर नआउँदा नेपाली टोली बलरको प्रदर्शनमा बढी निर्भर देखिएको छ ।
यूएईको चुनौती ब्याटिङमा पनि बलियो
नेपालको बलिङविरुद्ध यूएईले आफ्नो ब्याटिङ क्षमतासमेत प्रमाणित गरिसकेको छ । यूएईका अदिब उस्मानीले पाँच खेलमा १८२ रन बनाएका छन् ।
बलिङतर्फ हैदर अली र आयान खानले समान १० विकेट लिएका छन् । यसले यूएईको शक्ति केवल ब्याटिङमा नभई बलिङमा समेत सन्तुलित रहेको देखाउँछ ।
त्यसैले नेपालले फाइनलमा आफ्नो बलिङको स्तर कायम राख्दै ब्याटिङमा भने उल्लेख्य सुधार गर्नुपर्नेछ । सुरुवाती ओभरमै विकेट गुमाउने र मिडल अर्डरमा दबाब बढ्ने अवस्था दोहोरिए यूएईविरुद्ध खेल कठिन बन्न सक्छ ।
यूएईविरुद्ध नेपालको इतिहास सकारात्मक
एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा नेपाल र यूएईबीच अहिलेसम्म १९ पटक प्रतिस्पर्धा भएको छ । नेपालले ११ खेल जित्दा यूएईले ८ खेलमा बाजी मारेको छ ।
यसकारण आमनेसामनेको इतिहास नेपालका पक्षमा रहे पनि वर्तमान प्रतियोगिताको प्रदर्शन हेर्दा यूएईलाई कमजोर आँक्ने अवस्था छैन ।
फाइनल जिते फेरि एसिया कपमा नेपाल
नेपालले फाइनल जित्न सके सन् २०२३ पछि दोस्रोपटक एकदिवसीय एसिया कप खेल्ने अवसर पाउनेछ।
२०२३ को एसिया कपमा नेपालले भारत र पाकिस्तानजस्ता विश्व क्रिकेटका दुई ठूला टोलीसँग समूह चरणमा प्रतिस्पर्धा गरेको थियो । अब त्यस्तै ठूलो मञ्चमा पुनः पुग्न नेपाली टोलीका लागि आजको फाइनल निर्णायक बनेको छ ।
उपाधि रक्षा गर्ने लक्ष्य, एसिया कपको टिकट र यूएईविरुद्ध पुरानो जितको इतिहास—नेपालका लागि आजको फाइनलमा तीनवटै कुरा दाउमा छन् । तर ती लक्ष्य पूरा गर्न बलिङको प्रदर्शनसँगै ब्याटिङले पनि साथ दिनुपर्नेछ ।