अर्थतन्त्र गतिशील बनाउन पाँच ‘विशेष प्याकेज’ अघि बढाउँदै सरकार
अर्थमन्त्री डा स्वर्णिम वाग्लेले सरकारले अर्थतन्त्रलाई चलायमान बनाउन पाँच वटा विशेष प्याकेज अघि बढाउन लागेको बताउनुभएको छ । नेपाल आर्थिक पत्रकार समाज (सेजन) को २८ औँ वार्षिक साधारणसभामा उहाँले अर्थतन्त्र सुधारका लागि विभिन्न क्षेत्रलाई समेटेर पाँचवटा प्याकेजमार्फत काम अघि बढाइरहेको जानकारी दिनुभयो ।
अर्थमन्त्रीले पहिलो प्याकेज अन्तर्गत भोटेकोशी बाढीबाट भएको क्षतिको पुनरुत्थान तथा पुनः स्थापनाका लागि आवश्यक काम भइरहेको बताउनुभयो । बाढीबाट प्रभावित उद्योगी, व्यवसायी तथा सर्वसाधारणलाई राहत र पुनः स्थापनाका लागि अध्ययन भइसकेको उहाँले जानकारी दिनुभयो । दोस्रो प्याकेज अन्तर्गत शिथिल पुँजीबजारलाई सम्बोधन गर्न एक साताभित्रै १० देखि १२ बुँदे नीतिगत सुधारको योजना ल्याइने तयारी भइरहेको उहाँले बताउनुभयो ।
निजी क्षेत्रको प्रवद्र्धन तथा पुनरुत्थानका लागि छिट्टै विशेष प्याकेज घोषणा गर्ने तयारी भइरहेको जानकारी दिँदै अर्थमन्त्रीले त्यसलाई तेस्रो प्याकेजका रूपमा अघि बढाइने बताउनुभयो । चौथो प्याकेज अन्तर्गत नेपाललाई वित्तीय कारबाही कार्यदल (एफएटीएफ) को ‘ग्रे लिष्ट’बाट हटाउन सरकारले प्राथमिकताका साथ काम गरिरहेको उहाँले जानकारी दिनुभयो ।
पाँचौँ प्याकेज अन्तर्गत भोटेकोशी बाढीबाट भएको क्षतिको पुनर्निर्माणका लागि अन्तर्राष्ट्रिय वित्त परिचालनमा केन्द्रित भएर काम भइरहेको अर्थमन्त्री वाग्लेले बताउनुभयो । “अन्तर्राष्ट्रिय फण्ड भित्र्याउने र त्यसलाई व्यवस्थित गर्ने दिशामा पनि हामी अग्रसर भएका छौँ,” उहाँले भन्नुभयो।
नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष अञ्जन श्रेष्ठले भोटेकोशी बाढीबाट अकल्पनीइय क्षति भएकाले प्रभावित उद्योगी, व्यवसायी तथा व्यापारीका लागि सरकारले विशेष प्याकेज ल्याई निजी क्षेत्रको प्रवद्र्धन गर्नुपर्नेमा जोड दिनुभयो ।