बाढीपीडितको खोज तथा उद्धारमा नेपालसँग अमेरिका काँधमा काँध मिलाएर काम गर्न तयार : अमेरिकी राजदूत
काठमाडौ – कार्यवाहक अमेरिकी राजदूत मेगन बोल्डिनले आज नेपालका परराष्ट्र मन्त्री शिशिर खनालसँग भेट गरी नेपालमा हालै आएका विनाशकारी बाढीबाट भएको जीवनको क्षति र प्रभावित सबैप्रति हार्दिक सहानुभूति व्यक्त गर्नुभएको छ । खोज तथा उद्धार कार्य जारी नै रहेको अवस्थामा उहाँले हराइरहेका अमेरिकीहरूका साथै यस दुःखद घटनाका अन्य पीडितहरूको खोजी गर्ने असाधारण प्रयासहरूका लागि नेपाल सरकारप्रति आभार पनि प्रकट गर्नुभयो ।
यस प्रतिकार्यमा अमेरिका नेपालसँग काँधमा काँध मिलाएर काम गरिरहेको छ । हाम्रो सर्वोच्च प्राथमिकता हाम्रा अमेरिकी नागरिकहरूको सुरक्षा हो र आफ्ना प्रियजनबारे जानकारी खोज्ने परिवारहरूलाई सहयोग गर्न हामीले कन्सुलर सेवामा वृद्धि गरेका छौँ । साथै, नेपालको नेतृत्वमा देशभरिका प्रभावित समुदायहरूमा भइरहेको विपद् प्रतिकार्यमा अमेरिकी सहायताले टेवा पुर्याइरहेको छ ।
अमेरिकाले ४० लाख अमेरिकी डलर (करिब ६१ करोड रुपैयाँ) भन्दा बढीको मानवीय सहायता तथा सहयोग परिचालन गरेको छ जसमा खाद्यान्न तथा आपत्कालीन राहत, बन्दोबस्त सामग्री तथा उपकरण, विपद् पीडित पुनर्लाभका विशिष्टीकृत सामग्रीका साथै पीडितहरूको पहिचान गर्न र परिवारहरूका प्रश्नका उत्तर दिनमा मद्दत गर्न नेपाल प्रहरीसँगै रही कार्यरत एफबीआईका फरेन्सिक विशेषज्ञहरू लगायत समावेश छन् ।
नेपालले क्षति, विस्थापन र मानवीय आवश्यकताहरूको आकलन गर्दै गर्दा अमेरिकाले नेपालसँग निकट रूपमा साझेदारी गर्न जारी राख्नेछ ।