मधेशको राजनीतिमा पुस्तान्तरणको बहस तीव्र, ‘पुरानो नेतृत्वले अब जवाफ दिनुपर्छ’
जनकपुरधाम —मधेश आन्दोलनले राजनीतिक परिवर्तनको आधार तयार गरे पनि त्यसको नेतृत्व गर्ने नेताहरूले आन्दोलनका सहिदको सपना र जनअपेक्षाअनुसार काम गर्न नसकेको भन्दै मधेशमा नेतृत्व पुस्तान्तरणको आवाज फेरि चर्किएको छ ।
मधेश आन्दोलनका सहिद सँजय चौधरी, नितु यादव र दिलिप यादवको स्मृतिमा बिहीबार जनकपुरधाममा आयोजित ‘मधेशको अबको बाटो’ संवाद कार्यक्रममा सहभागी वक्ताहरूले मधेशको वर्तमान राजनीतिक अवस्थामाथि समीक्षा गर्दै अब नयाँ पुस्तालाई नेतृत्व हस्तान्तरण गर्नुपर्ने धारणा राखे ।
सहिद सँजय चौधरी स्मृति प्रतिष्ठानको आयोजनामा भएको कार्यक्रममा वक्ताहरूले आन्दोलनपछि मधेशका शीर्ष नेताहरू पटक–पटक सत्ता र सरकारमा पुगे पनि सहिदको बलिदान तथा आन्दोलनका मूल मुद्दालाई व्यवहारमा स्थापित गर्न नसकेको आरोप लगाए ।
उनीहरूले मधेशको राजनीति लामो समयदेखि सीमित नेतृत्वको वरिपरि घुमिरहेको भन्दै अब नेतृत्वको शैली, प्राथमिकता र पुस्ता नै परिवर्तन गर्नुपर्ने समय आएको बताए ।
वक्ताहरूका अनुसार पछिल्ला निर्वाचन तथा राजनीतिक घटनाक्रमले परम्परागत नेतृत्वप्रति मधेशी जनताको असन्तुष्टि बढ्दै गएको संकेत गरेको छ । यही असन्तुष्टिलाई गम्भीर रूपमा लिएर मधेशका राजनीतिक दल र नेताहरूले आत्मसमीक्षा गर्नुपर्ने उनीहरूको भनाइ थियो ।
‘सहिदको सपना कार्यक्रम होइन, व्यवहारमा देखिनुपर्छ’
कार्यक्रममा सहिदहरूको योगदानलाई वर्षमा एक दिन सम्झिने औपचारिकतामा सीमित गर्न नहुनेमा जोड दिइयो।
मधेश आन्दोलनका क्रममा उठाइएका ८८अधिकार, पहिचान, सम्मान, सामाजिक न्याय र समावेशिताका मुद्दा राज्यको नीति तथा व्यवहारमा स्थापित नभएसम्म सहिदको बलिदानको वास्तविक सम्मान नहुने वक्ताहरूले बताए ।
उनीहरूले मधेशको राजनीतिक उपलब्धि, संघीयताको अभ्यास र वर्तमान नेतृत्वको भूमिकामाथि खुला बहस आवश्यक रहेको भन्दै यस्ता संवादलाई प्रदेशका सबै जिल्लामा निरन्तरता दिनुपर्ने धारणा राखे ।
सहिद परिवार र आन्दोलनका अभियन्ता सम्मानित
कार्यक्रमअघि प्रतिष्ठानले जनकपुरधामस्थित सहिद गेटमा रहेका सहिद सँजय चौधरी, नितु यादव र दिलिप यादवका सालिकमा माल्यार्पण गरेको थियो । त्यसपछि सालिक परिसरमा सरसफाइसमेत गरिएको थियो ।
दिउँसो रौनियार धर्मशालामा आयोजित संवाद कार्यक्रममा धनुषा, महोत्तरी र सर्लाहीका मधेश आन्दोलनका सहिद परिवारलाई सम्मान गरिएको थियो ।
मधेश आन्दोलनमा सहभागी सामाजिक अभियन्ता, युवा तथा स्थानीय राजनीतिकर्मीलाई समेत सम्मान गरिएको आयोजकले जनाएको छ ।
कार्यक्रममा सहभागीहरूले सहिदको बलिदानलाई भावी पुस्ताका लागि प्रेरणाको स्रोत बनाउँदै मधेशको राजनीतिक भविष्यबारे नयाँ बहस अघि बढाउनुपर्नेमा जोड दिए ।
सहिद सँजय चौधरी स्मृति प्रतिष्ठानकी अध्यक्ष तथा सहिद सँजय चौधरीकी बहिनी ममता चौधरीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन सामाजिक अभियन्ता सँजय यादवले गरेका थिए ।
कार्यक्रममा सहिद परिवार, युवा, सामाजिक अभियन्ता, स्थानीय राजनीतिकर्मी तथा मधेश आन्दोलनसँग प्रत्यक्ष जोडिएका व्यक्तिहरूको सहभागिता थियो ।