कुशेऔँसी आजः बाबुको सम्मानसँगै पितृस्मरण गर्ने दिन
काठमाडौं — आज कुशेऔँसी। सनातन धर्मावलम्बीले घरमा पवित्र कुश भित्र्याउँदै जीवित बाबुको सम्मान र दिवंगत पितृको स्मरण गरेर यो पर्व मनाउँदैछन् । प्रत्येक वर्ष भाद्रकृष्ण औँसीका दिन पर्ने कुशेऔँसीलाई ‘बाबुको मुख हेर्ने दिन’का रूपमा पनि मनाउने गरिन्छ ।
कुशेऔँसीको धार्मिक महत्त्व भने बाबुको सम्मानमा मात्र सीमित छैन । वर्षभरि गरिने देवकार्य तथा पितृकार्यमा आवश्यक पर्ने पवित्र कुश आज विधिपूर्वक घरमा भित्र्याउने परम्परा छ ।
शास्त्रोक्त विधिअनुसार ब्राह्मणद्वारा पूजा गरी उखेलिएको कुश घरमा राख्दा परिवारमा कल्याण हुने धार्मिक विश्वास छ । आजका दिन उखेलिएको कुश वर्षभरि देवकार्य तथा पितृकार्यमा प्रयोग गर्न सकिने मान्यता रहेको छ ।
सनातन परम्परामा कुशलाई तुलसी, पीपल र शालिग्रामसँगै भगवान् विष्णुको प्रतीकका रूपमा समेत मानिन्छ । धार्मिक विश्वासअनुसार सृष्टिकर्ता ब्रह्माले विवेकशील प्राणीको उत्पत्तिसँगै पवित्र कुशको पनि उत्पत्ति गराएका थिए ।
बाबुको सम्मान गर्ने परम्परा
कुशेऔँसीमा जीवित बाबु हुने छोराछोरीले बाबुलाई मनपर्ने मिठाइ तथा भोजन खुवाएर सम्मान गर्ने, नयाँ वस्त्र तथा उपहार दिने र आशीर्वाद लिने परम्परा छ ।
‘पितृदेवो भव’ भन्ने मान्यताअनुसार बाबुलाई देवतासमान सम्मान गर्दै आशीर्वाद लिने भएकाले यो दिन पारिवारिक सम्बन्ध र संस्कारसँग पनि जोडिएको छ ।
बाबु दिवंगत भइसकेकाहरूले भने तीर्थस्थल पुगेर पितृको नाममा तर्पण, पिण्डदान तथा सिदादान गर्ने गर्छन् ।
धार्मिक मान्यताअनुसार जीवित बाबुलाई श्रद्धापूर्वक भोजन गराएर आशीर्वाद लिए सुख–समृद्धि प्राप्त हुने विश्वास छ । दिवंगत बाबुको नाममा गोकर्णलगायत तीर्थस्थलमा तर्पण तथा सिदादान गरे पुण्य प्राप्त हुने र कुलको स्थायित्व हुने मान्यता छ ।
यसरी कुशेऔँसी एकातिर घरमा पवित्र कुश भित्र्याउने धार्मिक पर्व हो भने अर्कोतर्फ जीवित बाबुप्रति सम्मान र दिवंगत पितृप्रति श्रद्धा व्यक्त गर्ने नेपाली समाजको मौलिक संस्कारको दिन पनि हो ।