अस्पतालको गेटमै प्रसूतिः ३२ सय रुपैयाँले उठाएको सरकारी स्वास्थ्य सेवामाथिको प्रश्न – Nepalboli

अस्पतालको गेटमै प्रसूतिः ३२ सय रुपैयाँले उठाएको सरकारी स्वास्थ्य सेवामाथिको प्रश्न

   २०८३ भाद्र २६, शुक्रबार  

राजविराज—प्रसव पीडाले छटपटाउँदै अस्पताल पुगेकी २९ वर्षीया बबिता पासवानले अस्पतालको बेडमा होइन, अस्पतालकै प्रवेशद्वारबाहिर सडक किनारमा छोरालाई जन्म दिइन् । उपचारअघि गर्नुपर्ने भनिएको स्वास्थ्य परीक्षणका लागि करिब ३ हजार २ सय रुपैयाँ तत्काल जुटाउन नसक्दा उनी र उनका श्रीमान् अस्पतालबाट बाहिरिएका थिए । केही समयमै बबितालाई प्रसव भयो ।

राजविराज नगरपालिका–१४, परसाहीटोलकी बबिताको घटनाले एउटा विपन्न परिवारको पीडा मात्र उजागर गरेको छैन, आकस्मिक प्रसूतिको अवस्थामा सरकारी अस्पतालमा उपचारको पहुँच, आर्थिक बाध्यता र अस्पतालको प्रक्रियाबीचको सम्बन्धमाथि गम्भीर प्रश्न उठाएको छ ।

मंगलबार राति करिब २ बजे प्रसव पीडा बढेपछि बबितालाई उनका श्रीमान् हरेराम पासवानले गजेन्द्रनारायण सिंह अस्पताल पुर्‍याएका थिए । मजदुरी गरेर परिवार चलाउँदै आएका हरेरामका अनुसार बबितालाई प्रसूति विभागमा भर्ना गरिएपछि स्वास्थ्यकर्मीले केही परीक्षणका लागि पुर्जा दिएका थिए ।

परीक्षणका लागि जाँदा करिब ३ हजार २ सय रुपैयाँ लाग्ने जानकारी पाएपछि हरेराम समस्यामा परे । तत्काल त्यति रकम जुटाउन सक्ने अवस्था नरहेको उनले बताए ।

‘त्यति पैसा थिएन । बिहानसम्म केही व्यवस्था गरेर आउँला भनेर श्रीमतीसँग कुरा गर्दै थियौँ,’८८ हरेरामले भने, ८८‘त्यही बेला उनलाई फेरि धेरै पीडा भयो ।’

त्यसपछि बबिता अस्पतालको प्रवेशद्वारनजिकै सडक किनारमा पुगिन् । आफन्त महिलाको सहयोगमा उनलाई त्यहीँ राखिएको केही समयमै प्रसव भयो । बिहान करिब ४ बजे उनले छोरालाई जन्म दिइन् ।

घटनाको दृश्य नजिकैको औषधि पसलमा जडान गरिएको सीसीटीभी क्यामेरामा समेत कैद भएको थियो । सार्वजनिक भएको फुटेजमा बबिता प्रसव पीडाले छटपटाइरहेको र आफन्त महिलाले उनलाई सम्हालिरहेको देखिन्छ ।

बच्चा जन्मिएको जानकारी पाएपछि अस्पतालका स्वास्थ्यकर्मीले आमा र नवजात शिशुलाई अस्पतालभित्र लगेर उपचार गरेका थिए । पछि बबिता र उनका श्रीमान् बच्चासहित घर फर्किएका थिए ।

अस्पताल भन्छ—उपचार अस्वीकार गरेका होइनौँ

घटना सार्वजनिक भएपछि अस्पताल प्रशासनमाथि लापर्वाहीको आरोप लाग्यो । तर अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. जितेन्द्र कँडेलले भने अस्पतालले उपचार अस्वीकार नगरेको दाबी गरेका छन् ।

उनका अनुसार प्रसूति गराउनुअघि आवश्यक स्वास्थ्य परीक्षण गर्नुपर्ने भएकाले ड्युटीमा रहेका स्वास्थ्यकर्मीले परीक्षणका लागि पुर्जा दिएका थिए । परीक्षण गराएर आउने भन्दै बबिता र उनका श्रीमान् बाहिरिएपछि उनीहरू तत्काल अस्पतालमा नफर्किएको प्रशासनको भनाइ छ ।

अर्थात्, घटनाको केन्द्रमा अहिले दुई फरक दाबी छन्—परिवारले तत्काल परीक्षणको खर्च जुटाउन नसकेको अवस्था र अस्पतालले उपचार अस्वीकार नगरेको प्रशासनको दाबी ।

यीमध्ये वास्तविकता के हो भन्ने कुरा छानबिनपछि मात्र स्पष्ट हुनेछ ।

घटना बाहिरिएपछि अस्पतालमै फर्काइयो

घटना सार्वजनिक भएपछि अस्पताल प्रशासनले बबिता र नवजात शिशुको अवस्थाबारे जानकारी लिन स्वास्थ्यकर्मीको टोली घर पठाएको थियो । त्यसपछि उनीहरूलाई पुनः अस्पताल ल्याएर गाइने वार्डको २२ नम्बर बेडमा भर्ना गरिएको छ ।

अस्पतालका अनुसार अहिले आमा र बच्चा दुवैको अवस्था सामान्य छ । साथै, बबिता र नवजात शिशुको सम्पूर्ण उपचार खर्च अस्पतालले व्यहोर्ने जनाएको छ ।

छानबिनका लागि तीन तहमा पहल

घटनाको सत्यतथ्य पत्ता लगाउन स्थानीय प्रशासनले समेत छानबिन थालेको छ । प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाको नेतृत्वमा अस्पतालको अनुगमनपछि जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख डा। सतीशकुमार यादवको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरिएको छ ।

समितिमा राजविराज नगरपालिकाका स्वास्थ्य संयोजक कामेश्वर यादव सदस्य तथा जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत कमलदेव यादव सदस्यसचिव छन् ।

यता स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले पनि घटनालाई गम्भीर रूपमा लिएको जनाएको छ । मन्त्रालयले नेपाल मेडिकल काउन्सिलका रजिस्ट्रार डा. सुप्रभात श्रेष्ठ, एथिकल कमिटीका डा. अजय शाह, उपचारात्मक सेवा महाशाखाका प्रमुख एवं महिला तथा प्रसूति रोग विशेषज्ञ डा.पवनजंग रायमाझीसहित पाँच सदस्यीय टोली गठन गरेको छ ।

मन्त्रालयले अस्पतालसँग स्पष्टीकरणसमेत मागेको छ । स्वास्थ्य संस्थामा उपचारका लागि आउने सेवाग्राहीलाई स्वास्थ्य सेवाबाट वञ्चित गर्न नहुने भन्दै मन्त्रालयले दोषी देखिएमा प्रचलित कानुनअनुसार कारबाही गर्ने जनाएको छ ।

 

मुद्दा ३२ सय रुपैयाँको मात्र होइन

बबिताको घटनाको अन्तिम जिम्मेवारी कसको हो भन्ने निष्कर्ष छानबिनले निकाल्नेछ । स्वास्थ्यकर्मीले प्रक्रिया पालना गरेका थिए वा विपन्न परिवारको आर्थिक अवस्थालाई तत्काल सम्बोधन गर्न चुके भन्ने विषय पनि त्यहीँबाट स्पष्ट हुनेछ ।

तर यो घटनाले उठाएको प्रश्न भने छानबिनको निष्कर्षभन्दा फराकिलो छ ।

प्रसवको अन्तिम अवस्थामा अस्पताल पुगेकी महिलाका लागि उपचारको पहिलो ढोका आर्थिक क्षमताले खोल्ने हो कि स्वास्थ्यको गम्भीरताले ?

सरकारी अस्पतालमा विपन्न र आकस्मिक अवस्थाका नागरिकका लागि उपचारको पहुँच सुनिश्चित गर्ने व्यवस्था भए पनि व्यवहारमा परीक्षण शुल्क, औषधि, प्रशासनिक प्रक्रिया र आर्थिक हैसियत उपचारको बाटोमा अवरोध बने भने सबैभन्दा बढी प्रभावित हुने वर्ग विपन्न नागरिक नै हुन् ।

बबिताले अस्पतालको गेटबाहिर बच्चा जन्माएको घटना त्यसैको एउटा कठोर दृश्य बनेर आएको छ ।

३ हजार २ सय रुपैयाँको तत्काल अभावले एउटा परिवारलाई अस्पतालको बेडबाट सडक किनारसम्म पुर्‍यायो । अब छानबिनले केवल ‘गल्ती कसको थियो ?’ भन्ने प्रश्नको जवाफ दिनुपर्ने छैन, यस्तो अवस्था फेरि नदोहरियोस् भन्नका लागि ‘आकस्मिक उपचारको ढोका कसरी खुला राख्ने ? ’ भन्ने प्रश्नको पनि जवाफ खोज्नुपर्नेछ ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै