सुनसरी–४ का दीपक साह उद्योगमन्त्री बन्दै
काठमाडौं— उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको नेतृत्व परिवर्तन हुने भएको छ । गौरीकुमारी यादवले पदबाट राजीनामा दिएपछि प्रधानमन्त्री वालेन्द्र शाहले सुनसरी क्षेत्र नम्बर ४ का सांसद दीपक साहलाई उद्योगमन्त्री नियुक्त गर्ने तयारी गरेका छन् ।
प्रधानमन्त्रीको सचिवालय स्रोतका अनुसार साहलाई मन्त्रालयको जिम्मेवारी दिने तयारी अन्तिम चरणमा पुगेको छ । यादवको राजीनामासँगै रिक्त रहेको मन्त्रालयमा साहलाई ल्याउन लागिएको हो ।
साह सुनसरी–४ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य हुन् । उनलाई उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको जिम्मेवारी दिने निर्णय भएमा सरकारमा उनको पहिलो मन्त्री पद हुनेछ ।
यसअघि उद्योगमन्त्री रहेकी यादवले बिहीबार प्रधानमन्त्री शाहसमक्ष राजीनामा बुझाएकी थिइन् । ग्यास आपूर्ति तथा ग्यास उद्योगीसँग सम्बन्धित विषयमा उनको पछिल्लो अभिव्यक्ति विवादमा आएपछि राजीनामा आएको हो ।
साहको नियुक्तिसँगै उद्योग तथा आपूर्ति क्षेत्रका समस्या समाधान, विशेषगरी पछिल्लो समय देखिएको एलपी ग्यास आपूर्ति संकट व्यवस्थापनमा उनको भूमिका कस्तो रहने भन्ने चासो बढेको छ ।