एसीसी प्रिमियर कपको फाइनल पुग्न नेपाल आज ओमानसँग भिड्दै – Nepalboli

एसीसी प्रिमियर कपको फाइनल पुग्न नेपाल आज ओमानसँग भिड्दै

   २०८३ भाद्र २५, बिहीबार  

काठमाडौं — एसीसी पुरुष प्रिमियर कप क्रिकेटको फाइनल प्रवेशका लागि नेपालले आज ओमानसँग निर्णायक सेमिफाइनल खेल खेल्दैछ ।

मलेसियाको क्वालालम्पुरस्थित बायुमास ओभलमा हुने खेल नेपाली समयअनुसार बिहान ७ः१५ बजे सुरु हुनेछ । समूह चरणमा प्रभावशाली प्रदर्शन गरेको नेपाल समूह ‘ए’ को विजेता बन्दै अन्तिम चारमा पुगेको हो ।

नेपालले समूह चरणका सुरुवाती तीन खेलमा लगातार जित निकाल्दै सेमिफाइनलको यात्रा तय गरेको थियो । अन्तिम खेलमा भने हङकङसँग १५ रनले पराजित भयो । समान ६ अंक भए पनि उत्कृष्ट रनरेटका आधारमा नेपाल समूह विजेता बनेको हो ।

उता, ओमान समूह ‘बी’ को उपविजेता बन्दै सेमिफाइनलमा पुगेको हो। चारमध्ये दुई खेलमा जित हात पारेको ओमानले समूह चरणको अन्तिम खेलमा यूएईसँग ४९ रनको हार बेहोरेको थियो ।

आजको खेलमा विजयी हुने टोलीले प्रतियोगिताको फाइनलमा स्थान सुरक्षित गर्नेछ । त्यसैले नेपालका लागि यो खेल उपाधि यात्राको महत्वपूर्ण खुड्किलोका रूपमा रहेको छ ।

प्रतियोगिताको अर्को सेमिफाइनलमा आजै संयुक्त अरब इमिरेट्स (यूएई) र हङकङ आमनेसामने हुँदैछन् । दुवै सेमिफाइनलका विजेताबीच फाइनल खेल शनिबार हुनेछ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै