जसपा संस्थापन पक्षका लुम्बिनी प्रदेश सांसद अम्बिका काफ्ले पदमुक्त
बुटवल— जनता समाजवादी पार्टी (जसपा) नेपालकी लुम्बिनी प्रदेश सभा सदस्य अम्बिका काफ्ले पदमुक्त भएकी छन् । लुम्बिनी प्रदेश सभा सचिवालयले काफ्लेको दल त्यागसम्बन्धी सूचना सार्वजनिक गर्दै उनको प्रदेश सभा सदस्य पद रिक्त भएको जनाएको हो ।
प्रदेश सभा अधिवेशन चालु नरहेको अवस्थामा सभामुख तुलाराम घर्तीको निर्देशनअनुसार राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ३५ को उपदफा २ तथा लुम्बिनी प्रदेश सभा नियमावली, २०७९ को नियम १९६ बमोजिम दल त्यागसम्बन्धी सूचना प्रकाशन गरिएको सचिवालयले जनाएको छ ।
जसपा नेपाल लुम्बिनी प्रदेश सभा संसदीय दलको निर्णय तथा सिफारिसका आधारमा काफ्लेलाई प्रदेश सभा सदस्य पदबाट निष्कासन गरिएको सचिवालयको सूचनामा उल्लेख छ ।
संसदीय दलका अनुसार काफ्लेले पार्टी तथा संसदीय दलको निर्णयविपरीत पटकपटक गतिविधि गरेको र त्यसबारे स्पष्टीकरणका लागि अवसर दिँदा समेत बेवास्ता गरेको आरोप छ । सोही आधारमा काफ्लेलाई दलबाट निष्कासन गरी प्रदेश सभा सदस्य पदसमेत रिक्त गराउन सिफारिस गरिएको पत्र प्रदेश सभा सचिवालयमा पठाइएको थियो ।
पार्टीको केन्द्रले प्रदेश सभाका चार सांसद—सन्तोष पाण्डे, भण्डारी लाल अहिर, आदेश अग्रवाल र हेमा बेल्बासे केसी—लाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी निर्णय गरेको थियो । तर पार्टी संस्थापन पक्षमा उभिएकी सांसद काफ्लेलाई कारबाहीमा परेकी हुन ।