संसद्का दुवै सदनको बैठक आज, प्रतिनिधि सभामा तीन प्रस्ताव पेस हुने – Nepalboli

संसद्का दुवै सदनको बैठक आज, प्रतिनिधि सभामा तीन प्रस्ताव पेस हुने

   २०८३ भाद्र २४, बुधबार  

काठमाडौं— संघीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ । प्रतिनिधि सभाको बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले विभिन्न विधेयक तथा प्रस्ताव अघि बढाउने कार्यसूची रहेको छ ।

प्रतिनिधि सभाको बैठक अपराह्न १ बजे सिंहदरबारमा बस्नेछ । बैठकमा कानुनमन्त्री गौतमले ‘‘नेपाल कानुन आयोग (पहिलो संशोधन) विधेयक, २०८३’ प्रस्तुत गर्नेछिन् ।

यस्तै, ‘मेलमिलापसम्बन्धी (दोस्रो संशोधन) विधेयक, २०८३’ माथि विचार गरियोस् भन्ने प्रस्ताव पनि मन्त्री गौतमले पेस गर्ने सम्भावित कार्यसूची छ ।

यसैगरी, ‘एसियाली विधायिकी संस्थाहरूको परिषद्को सदस्यता प्राप्त गर्नेसम्बन्धी प्रस्ताव’ पनि सभासमक्ष पेस हुने सम्भावित कार्यसूची रहेको संघीय संसद् सचिवालयले जनाएको छ ।

उता, राष्ट्रिय सभाको बैठक अपराह्न १ः१५ बजे बस्नेछ । बैठकमा ‘नेपाल विशेष सेवा ऐन, २०४२ को साबिकको व्यवस्था जगाउनेसम्बन्धी विधेयक, २०८३’ सम्बन्धी समितिको प्रतिवेदन पेस गर्ने कार्यसूची छ ।

विधायन व्यवस्थापन समितिका सभापति कृष्णबहादुर रोकायाले उक्त प्रतिवेदन सभासमक्ष पेस गर्नेछन् ।

बैठकमा राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त मन्त्रिपरिषद् सदस्यको कार्यभार तोकिएकोसम्बन्धी पत्रको व्यहोरा पनि सदनलाई जानकारी गराउनेछन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै