अमेरिकी विदेशमन्त्री रुबियोले रवि लामिछानेलाई फोन गरेर रसुवा बाढीप्रति दुःख व्यक्त गरे
काठमाडौं— रसुवामा आएको विनाशकारी बाढीबाट भएको जनधनको क्षतिप्रति अमेरिकाले चासो व्यक्त गरेको छ । अमेरिकी विदेशमन्त्री मार्को रुबियोले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई टेलिफोन गरी बाढीमा ज्यान गुमाउनेहरूप्रति दुःख व्यक्त गरेका छन् ।
रास्वपाका अनुसार टेलिफोन वार्तामा रुबियोले बाढीबाट भएको मानवीय तथा भौतिक क्षतिप्रति समवेदना प्रकट गर्दै विपद्को कठिन घडीमा नेपालका जनता र सरकारप्रति अमेरिकी सरकारको ऐक्यबद्धता रहेको बताएका थिए ।
वार्ताका क्रममा लामिछानेले रसुवा बाढीपछि सरकारले खोजी, उद्धार तथा राहतका लागि उपलब्ध सबै स्रोत–साधन परिचालन गरिरहेको जानकारी गराए ।
उनले विपद्का बेला नेपाली नागरिकसँगै नेपालमा रहेका विदेशी नागरिकको सुरक्षा सुनिश्चित गर्न पनि सरकार समान रूपमा प्रतिबद्ध रहेको बताएका थिए ।
लामिछानेले कठिन परिस्थितिमा अमेरिकाले व्यक्त गरेको चासो र सहयोगप्रति रुबियोमार्फत अमेरिकी सरकारलाई धन्यवाद दिएका थिए ।