लुम्बिनीमा पार्टी नेतृत्वप्रति असन्तुष्टि चुलिँदै, उपेन्द्र यादवविरुद्ध नवलपरासीमा नाराबाजी – Nepalboli

लुम्बिनीमा पार्टी नेतृत्वप्रति असन्तुष्टि चुलिँदै, उपेन्द्र यादवविरुद्ध नवलपरासीमा नाराबाजी

   २०८३ भाद्र २२, सोमबार  

रुपन्देही —जनता समाजवादी पार्टी नेपालभित्र लुम्बिनी प्रदेशलाई लिएर देखिएको असन्तुष्टि सार्वजनिक रूपमा छताछुल्ल हुन थालेको छ । पार्टी अध्यक्ष उपेन्द्र यादव सहभागी कार्यक्रममा नवलपरासीका नेता–कार्यकर्ताले नेतृत्वको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै कार्यक्रम बहिष्कार गरेका छन् ।

आइतबार नवलपरासीमा जसपाले आयोजना गरेको अगुवा कार्यकर्ता भेलामा तत्कालीन लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) बाट जसपामा समाहित भएका जिल्ला अध्यक्ष मुकुर गिरीसहितका नेता–कार्यकर्ताले यादवविरुद्ध नाराबाजी गर्दै कार्यक्रम बहिष्कार गरेका हुन् ।

जसपाले अध्यक्ष यादवलाई प्रमुख अतिथि बनाएर कार्यक्रम आयोजना गरेको थियो । यादवले सम्बोधन गरिसकेपछि कार्यक्रमको अध्यक्षता गरिरहेका गिरीले उनको भनाइप्रति आपत्ति जनाउँदै आलोचना गरेपछि विवाद सुरु भएको बताइएको छ ।

गिरीका अनुसार आफूले बोलिरहेको विषयमा यादवले बीचमै रोक्न खोजेपछि उनले कार्यक्रम समापन नगरी आफ्नो समूहसहित बाहिरिएका थिए ।

‘मैले अध्यक्ष उपेन्द्रजीले गलत बोलेका विषयमा बोलिरहेको थिएँ। मलाई बीचमै रोक्न खोजेपछि मैले कार्यक्रम समापन नगरी हाम्रो पक्षले बहिष्कार गरेर हिँड्यौं,’ गिरीले भने, ‘पार्टी कुनै व्यक्तिको होइन। लुम्बिनीको निर्णय बाहिर बसेर गर्न पाइँदैन ।’

गिरीले पार्टी अध्यक्ष यादवले मधेश आन्दोलनलगायतका आन्दोलनमा आफूले मात्रै भूमिका खेलेको जस्तो अभिव्यक्ति दिएर अन्य नेता–कार्यकर्ताको योगदानलाई अवमूल्यन गर्न नहुने बताएका थिए ।

उनले हालै गठन गरिएको २७९ सदस्यीय केन्द्रीय समितिमा मधेश प्रदेशका आठ जिल्लाबाट मात्रै २११ भन्दा बढी सदस्य समेटिएको तर १२ जिल्ला रहेको लुम्बिनी प्रदेशबाट १८ जनालाई मात्रै स्थान दिइएको भन्दै नेतृत्वप्रति असन्तुष्टि जनाएका थिए ।

गिरीले लुम्बिनी प्रदेशप्रति पार्टी नेतृत्वले विभेदपूर्ण व्यवहार गरेको आरोपसमेत लगाए। उनका अनुसार प्रदेशलाई जानकारी नै नदिई लुम्बिनीका चार सांसदलाई पार्टीबाट कारबाही गरिएको विषयमा पनि आफूले कार्यक्रममा प्रश्न उठाएका थिए ।

‘यहाँ पार्टीको प्रदेश कमिटी छ, संसदीय दल छ। यहाँको अवस्थाबारे माथि स्वार्थ नमिलेका आधारमा कारबाही गर्ने ? यस्तो पनि हुन्छ ?’ गिरीले भने, ‘मैले यति भनेपछि पनि मलाई रोक्न खोजियो । त्यसपछि हामी बहिष्कार गरेर हिँड्यौं ।’

जसपाले पार्टीको नीतिविपरीत लुम्बिनी प्रदेश सरकारको पक्षमा मतदान गरेको आरोपमा सांसदहरू सन्तोषकुमार पाण्डे, हेमा बेल्वासे केसी, भण्डारीलाल अहिर र आदेशकुमार अग्रवाललाई शुक्रबार पार्टीबाट निष्कासन गरेको थियो ।

चार सांसदलाई कारबाही गरेपछि लुम्बिनीमा तत्कालीन लोसपाबाट जसपामा समाहित भएका नेता–कार्यकर्ताको असन्तुष्टि थप चर्किएको गिरीको भनाइ छ ।

गिरीले अध्यक्ष यादवले लुम्बिनी प्रदेशलाई ‘उपनिवेश’को जस्तो व्यवहार गरेको आरोप पनि लगाए । उनका अनुसार आफूले नेतृत्वको कार्यशैलीमाथि प्रश्न उठाएपछि यादवले जथाभावी नबोल्न चेतावनी दिएका थिए ।

गिरी तत्कालीन लोसपाका नवलपरासी जिल्ला अध्यक्ष हुन् । जसपा र लोसपा एकतापछि जिल्लामा पूर्ण रूपमा संगठनात्मक समायोजन हुन नसक्दा गिरीसँगै साविक जसपाका धरेन्द्र यादव पनि जिल्ला अध्यक्षको भूमिकामा छन् ।

यता, उपेन्द्र यादव निकट साविक जसपाका जिल्ला अध्यक्ष धरेन्द्र यादवले भने कार्यक्रममा कुनै ठूलो विवाद नभएको दाबी गरेका छन् ।

उनका अनुसार गिरीले कार्यक्रम समापनका क्रममा अन्य पार्टीको पक्षमा कुरा गरेपछि अध्यक्ष यादवले जसपा नेपालमा रहेर पार्टीको नीति र नियमअनुसार अघि बढ्न सम्झाएका मात्र हुन् ।

‘त्यो धेरै ठूलो कुरा थिएन । गिरीजीले समापनका समयमा अरु पार्टीको पक्षमा बोल्नुभएको थियो । उपेन्द्रजीले जसपा नेपालमा बसेपछि अरु पार्टीको पक्षमा कुरा नगर्न र पार्टीको नीति तथा नियममा रहन सम्झाउनुभएको हो,’ धरेन्द्रले भने, ‘यसलाई विवाद वा बहिष्कार केही होइन, सामान्य कुरा हो ।’

तर गिरीले भने यसलाई सामान्य असहमति नभई लुम्बिनी प्रदेशप्रति पार्टी नेतृत्वको व्यवहारविरुद्धको राजनीतिक असन्तुष्टिका रूपमा व्याख्या गरेका छन् । लुम्बिनीका चार सांसदलाई निष्कासन गरिएपछि प्रदेशमा जसपाभित्रको विवाद थप सतहमा आएको देखिएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै