भोटेकोशी बाढीमा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रिय शोक
काठमाडौं— भोटेकोशी बाढीमा ज्यान गुमाएकाको सम्झनामा आज मुलुक शोकमा रहने भएको छ । सरकारले मृतकप्रति सम्मान व्यक्त गर्न देशभर राष्ट्रिय झन्डा आधा झुकाउने निर्णय गरेसँगै सरकारी कार्यालयदेखि विदेशस्थित नेपाली नियोगसम्म शोक मनाइँदैछ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा भदौ १८ गते बसेको मन्त्रिपरिषद् बैठकले भदौ १० गते भोटेकोशी नदीमा आएको भीषण बाढीमा परी ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रिय शोक मनाउने निर्णय गरेको थियो ।
सरकारको निर्णयअनुसार आज नेपालभरका सरकारी कार्यालय तथा विदेशस्थित नेपाली दूतावास र नियोगमा राष्ट्रिय झन्डा आधा झुकाइनेछ ।
प्रहरी प्रधान कार्यालय नक्सालका अनुसार आइतबार साँझसम्म भोटेकोशी बाढीमा परी मृत्यु भएकामध्ये एक हजार ३४२ जनाको शव फेला परेको छ । बाढीपछि अझै तीन हजार ९९२ जना सम्पर्कविहीन छन् ।
फेला परेका शवमध्ये ५३० पुरुष, ३२८ महिला तथा ४९५ वटा शव पहिचान गर्न नसकिने अवस्थामा रहेको प्रहरीले जनाएको छ ।
बाढी प्रभावित क्षेत्रमा बेपत्ताको खोजी, उद्धार तथा शव व्यवस्थापनको काम जारी छ । फेला परेका शवमध्ये एक हजार ४४ वटा शव सुरक्षित रूपमा जमिनमा गाडेर व्यवस्थापन गरिएको छ भने बाँकी शवको पहिचान तथा व्यवस्थापन प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार बाढी प्रभावित विभिन्न जिल्लाबाट हालसम्म १३ हजार ३९९ जनाको उद्धार गरिएको छ ।
नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका हजारौँ जनशक्ति कठिन भूगोल, अवरुद्ध सडक र जोखिमपूर्ण नदीको प्रवाहबीच खोजी तथा उद्धारमा परिचालित छन्। प्राधिकरणकी प्रवक्ता शान्ति महतका अनुसार प्रभावित क्षेत्रमा खोज, उद्धार तथा राहतका लागि २१ हजार ४६५ सुरक्षाकर्मी खटिएका छन् ।
नेपाली सेनाले हवाई साधनमार्फत एक हजार ४५ पटक तथा निजी क्षेत्रका हवाई साधनले १२९ पटक उडान गरी खोज, उद्धार तथा राहत कार्यलाई निरन्तरता दिएका छन् ।
उद्धार गरिएका नागरिकको तत्काल व्यवस्थापनका लागि रसुवा, नुवाकोट र धादिङमा होल्डिङ सेन्टर सञ्चालन गरिएको छ । हाल तीन हजार ९१२ जना होल्डिङ सेन्टरमा रहेका छन् ।
घाइते तथा प्रभावित नागरिकलाई स्वास्थ्य सेवा उपलब्ध गराउने कामसमेत जारी छ । हालसम्म छ हजार ७३ जनालाई स्वास्थ्य सेवा उपलब्ध गराइएको प्राधिकरणले जनाएको छ ।
बेपत्ता व्यक्तिको पहिचान तथा फेला परेका शवको सनाखत गर्न डिएनए परीक्षणलाई प्राथमिकता दिइएको छ । प्रहरीले हालसम्म मृतक एक हजार १८१ जना र मृतकका आफन्त एक हजार १९५ जना गरी दुई हजार ३७६ जनाको डिएनए नमुना सङ्कलन गरिएको जनाएको छ ।
बेपत्ताको खोजी, उद्धार, शव पहिचान तथा व्यवस्थापनका लागि नेपाली सेनासहित नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र सम्बन्धित सरकारी निकायका टोली प्रभावित क्षेत्रमा परिचालित छन् ।