गोरखामा मध्यराति भीषण बाढी, चार घर र मुख्य पुल बगायो – Nepalboli

गोरखामा मध्यराति भीषण बाढी, चार घर र मुख्य पुल बगायो

   २०८३ भाद्र २१, आईतवार  

काठमाडौं— गोरखाको चुमनुब्री गाउँपालिका–४ नाम्रुङमा मध्यराति आएको भीषण बाढीले चार घरसहित वडा नम्बर २ र ४ जोड्ने मुख्य फलामे पुल बगाएको छ ।

गएराति करिब ३ बजेतिर लेदोसहित अचानक आएको बाढीले स्थानीय नुर्वु ओङ्ग्याल, उर्गेन छयोदेन, लाक्पा भुटी र दोर्जे ग्याल्जेनको घर बगाएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।

प्रहरी नायब उपरीक्षक (डिएसपी) राजकुमार श्रेष्ठका अनुसार बाढी आउनुअघि नै स्थानीयवासी सुरक्षित स्थानतर्फ लागेकाले मानवीय क्षति हुन पाएन ।

बाढीले चुमनुब्री गाउँपालिका–४ र वडा नम्बर–२ जोड्ने मुख्य फलामे पुलसमेत बगाएपछि स्थानीय आवागमन प्रभावित भएको छ ।

यद्यपि, आइतबार बिहानदेखि नाम्रुङ खोलाको बहाव क्रमशः घट्दै गएको प्रहरीले जनाएको छ। अहिले खोलाको अवस्था सामान्य बन्दै गएको बताइएको छ ।

बाढीबाट भएको अन्य क्षतिको विवरण संकलन भइरहेको प्रहरीले जनाएको छ ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै