बाढीपीडितलाई राष्ट्रसंघको ७ अर्ब ४९ करोडको सहयोग
काठमाडौं— हिउँद सुरु हुनुअघि भोटेकोशी बाढी प्रभावित ८४ हजार नागरिकलाई जीवनरक्षक सहायता पुर्याउन संयुक्त राष्ट्रसंघले झण्डै ७ अर्ब ४९ करोड रुपैयाँको सहयोग जुटाउने भएको छ ।
राष्ट्रसंघले भोटेकोशी बाढी प्रभावितको उद्धार, राहत र पुनःस्थापनाका लागि ४ करोड ९६ लाख अमेरिकी डलर बराबरको सहयोग उपलब्ध गराउन मानवीय सहायताका अन्तर्राष्ट्रिय साझेदार संस्थाहरूसँग अपिल गरेको हो ।
राष्ट्रसंघका अनुसार यो रकम भोटेकोशी र त्रिशूली नदीमा आएको बाढी र पहिरोबाट प्रभावित भएका नागरिकका लागि खर्च गरिनेछ ।
नेपालस्थित राष्ट्रसंघीय कार्यालयका अनुसार राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको नेतृत्वमा सरकारले तयार पारेको हिउँद सुरु हुनुअघिको चार महिने योजनालाई नै यो सहयोगले प्राथमिकतामा राखेर सम्बोधन गर्नेछ । हाल संयुक्त राष्ट्रसंघ र साझेदार निकायहरू सरकारले संचालन गरिरहेको उद्धार तथा राहत कार्यसँग समन्वय गरेर काम गरिरहेका छन् ।
बाढीका कारण रसुवा, नुवाकोट र धादिङका दर्जनौं बस्ती विस्थापित भएका छन् ।
नेपालका लागि संयुक्त राष्ट्रसंघीय आवासीय संयोजक लिला पिटर्स याहियाले यस अपिलको मुख्य प्राथमिकता सरकारकै नेतृत्वमा सबैभन्दा दुर्गम बस्तीसम्म हिउँद लाग्नुअघि ओत, उपचार, सफा पानी र नगद सहयोग पुर्याउनु रहेको बताउनुभएको छ ।