भोटेकोशी बाढीः अझै ५ हजार बेपत्ता, १३४४ जनाको शव फेला
काठमाडौं— भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी बेपत्ता भएका झण्डै ५ हजार जनाको अवस्था अझै अज्ञात रहेको छ । नेपाल प्रहरीले सार्वजनिक गरेको पछिल्लो विवरण अनुसार ४ हजार ८ सय ९८ जना अझै बेपत्ता छन् भने १ हजार ३४४ जनाको शव फेला परेको छ ।
प्रहरीका अनुसार फेला परेका शवमा ४८९ पुरुष, २६९ महिला, ५२ बालक र ३३ बालिका रहेका छन् । यस्तै ५०१ वटा शवका आंशिक अंग मात्र फेला परेका छन्, जसको पहिचान हुन सकेको छैन ।
बेपत्ता हुनेमा २ हजार ९ सय ३० नेपाली र ६ सय १८ विदेशी नागरिक छन् । नेपाली बेपत्तामा २ हजार ४४८ पुरुष र ४८२ महिला छन्। बेपत्ता भएका मध्ये १ हजार ३५० जनाको बारेमा फोनमार्फत जानकारी आएको प्रहरीले जनाएको छ।
प्रहरीले हालसम्म बाढी प्रभावित क्षेत्रबाट ८ हजार ६३१ जनाको सकुशल उद्धार गरेको छ। उद्धार गरिएकामा ७ हजार ३८७ नेपाली र १ हजार २४४ विदेशी नागरिक छन् । विस्थापित भएका ३ हजार ६५५ जनालाई विभिन्न होल्डिङ सेन्टरमा राखिएको छ ।
खोज तथा उद्धारका लागि ७ हजार २१२ जना प्रहरी परिचालन गरिएको छ । उद्धारकै क्रममा ६५ जना प्रहरी घाइते भएका छन् भने २५ जना प्रहरी अझै सम्पर्कविहीन छन् ।
फेला परेका शवमध्ये १ हजार ३० वटाको जमिनमा गाडेर व्यवस्थापन गरिएको छ । मृतकको पहिचानका लागि DNA संकलन तीव्र पारिएको छ । हालसम्म १ हजार २६० मृतक र ९७२ मृतकका आफन्त गरी २ हजार २३२ जनाको DNA नमुना संकलन गरिएको छ । पहिचान हुन नसकेका १ हजार २७० जनाको विवरण वेबसाइटमा अपलोड गरिएको छ ।