त्रिशूली-३ ‘ए’ को केबल डक्टबाट पाँच दिनमै २० हजार घनमिटर भग्नावशेष हटाइयो – Nepalboli

त्रिशूली-३ ‘ए’ को केबल डक्टबाट पाँच दिनमै २० हजार घनमिटर भग्नावशेष हटाइयो

   २०८३ भाद्र १८, बिहीबार  

 

रसुवा— भोटेकोशीमा १० भदौमा आएको विनाशकारी बाढीले पुरेको त्रिशूली ३ ‘ए’जलविद्युत् आयोजनाको केबल डक्ट सुरुङको मुख खोल्न ५ दिनमै करिब २० हजार घनमिटर लेदो, ढुंगा र भग्नावशेष हटाइएको छ ।

१६० मिटर लामो केबल डक्ट सुरुङको प्रवेशद्वार (पोर्टल) क्षेत्रमा थुप्रिएको घरको आकारसम्मका बोल्डर, कंक्रिटका स्ल्याब, बीम, पिलरसहितको मलबा हटाउने काम १३ भदौदेखि २४ सै घण्टा भइरहेको खोज तथा उद्धारमा खटिएका इन्जिनियर उदयराज न्यौपानेले जानकारी दिए ।

उनका अनुसार दुईवटा एक्स्काभेटर, ब्रेकर र नियन्त्रित विस्फोटक पदार्थ प्रयोग गरेर अहिलेसम्म दुई दर्जनभन्दा बढी ठूला बोल्डर विस्फोट गरी फुटाएर हटाइसकिएको छ ।

इन्जिनियर न्यौपानेले भने, पोर्टलको टप फेस क्राउनभन्दा करिब २.५ मिटर तलसम्मको करिब ५० मिटर लामो क्षेत्र सफा भइसकेको छ। ५.५ मिटर अग्लो सुरुङमा बाँकी करिब तीन मिटर गहिराइको एक्सेस तथा ड्रेनेज निर्माणपछि मात्र सुरुङभित्रको लेदो हटाउने काम सुरु हुन्छ ।

प्रारम्भिक अवलोकनमा सुरुङको मुखबाट करिब एक मिटरसम्मको भाग लेदोले पूर्ण रूपमा भरिएको देखिए पनि भित्र पानी जमेको अवस्था नरहेको उनको भनाइ छ । सुरुङबाट अहिले प्रतिसेकेन्ड करिब दुई लिटरका दरले पानी बाहिर निस्किरहेको र कुनै दबाब नरहेको प्रारम्भिक संकेत मिलेको न्यौपानेले बताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै